सुनसरी, । सुनसरीस्थित साहेवगंज बोर्डर आउटपोष्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक एनि कुमार तामाङलाई आर्थिक प्रलोभन र तस्करीलाई संरक्षण दिएको आरोपमा जिम्मेवारीबाट हटाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण, सुनसरीले तामाङलाई गण तानेको पुष्टि गरेको छ। अवैध चोरी तस्करीलाई प्रसय दिएको र उक्त गतिविधिको समाचार सार्वजनिक नगर्न पत्रकारलाई पैसाको प्रलोभन देखाएको आरोपमा उनलाई कारबाही गरिएको हो।
प्रहरी निरीक्षक तामाङले लाइभ न्युज रफ्तारका पत्रकारलाई तस्करीको भिडियो रिपोर्ट रोक्न आर्थिक प्रस्ताव दिएका थिए। सो आरोप पुष्टि हुने संकेत पाएपछि सशस्त्र प्रहरीले तत्काल उनलाई स्थानान्तरण गरेको हो।
तामाङको सट्टा अब प्रहरी निरीक्षक तुलसीराम कार्की साहेवगंज पोस्टमा खटिने भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली सुनसरीका डिआइजी कुमार न्यौपानेले तामाङको भूमिकामा ‘गम्भीर कैफियत’ देखिएको बताएका छन्।
‘चोरी तस्करी नियन्त्रणमा वहाँको भूमिकामा कैफियत देखिएपछि गण तानिएको हो,’ डिआइजी न्यौपानेले प्रदेश पोर्टलसँग भने, ‘संगठनको आचरण विपरीत कार्य गर्ने जो कोहीलाई कारबाहीमा गछौं।’
डिआइजी न्यौपानेका अनुसार मोरङको रानीस्थित डिएसपी ऋषिकेश राउत र सिक्टीका प्रहरी निरीक्षक बिराज कटुवाललाई पनि यस्तै कारणले कारबाही गरिएको छ।
सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल गम्भीर रहेको उल्लेख गर्दै उनले भने, ‘तस्करी नियन्त्रणमा राज्य, समाज र सुरक्षाकर्मी सबैको भूमिका बराबरी हुन्छ।’