काठमाडौँ, १५ साउन – लमजुङ क्याम्पस सुन्दरबजारमा पहिलो राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरिएको छ। यो कार्यक्रम लमजुङ क्याम्पस सुन्दरबजारको सहकार्यमा सामुदायिक रुपान्तरणका लागि यूवा नेपाल (वाइसिटि), खाद्यका लागि कृषि अभियान र सुन्दरबजार नगरपालिकाको संयुक्त आयोजनामा साउन १६ र १७ गते हुने छ।
नेपाल सरकारको असार २३ गतेको मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरिएकाे हो। यस वर्षको कोदो दिवसको नारा ‘कोदोजन्य बालीको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ तय गरिएको छ।
लमजुङ क्याम्पसको परिसरमा हुने यस कार्यक्रमको उद्देश्य कृषि, आहार र सांस्कृतिक विविधता को उत्सवका रूपमा मनाइने छ। कार्यक्रममा कोदो रोपाई, कृषि प्रदर्शनी, स्थानीय बीउको अवलोकन, कोदो विशेष परिकारको प्रदर्शन, पोस्टर र तथ्यांक प्रदर्शन, नाटक प्रस्तुति लगायतका विविध गतिविधिहरू समावेश गरिने कार्यक्रम संयोजक र सामुदायिक रुपान्तरणका लागि यूवा नेपाल (वाइसिटि) का अध्यक्ष समन्वय निरौलाले जानकारी दिएका छन्।
लमजुङ वरपरका किसान, इच्छुक नागरिक र स्थानीय निकायका प्रतिनिधिहरूलाई कार्यक्रमको लागि खुला निमन्त्रणा गरिएको छ। यस अवसरमा लमजुङ क्याम्पसमा अध्ययनरत विद्यार्थी निश्चल घिमिरेले भने, “यस कार्यक्रमले कोदोको महत्व र यसका उत्पादन वृद्धि गर्नमा योगदान पुर्याउनेछ।”
यसअघि, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले अनौपचारिक रूपमा कोदो दिवस मनाउँदै आएका थिए, तर यस वर्ष नेपाल सरकारले यसको राष्ट्रिय स्तरमा मनाउने निर्णय गरेको हो।
कोदो र कोदोजन्य परिकारको माग बढ्दै गएका बेला सरकारको ध्यान यस क्षेत्रमा पुगेको भए पनि उत्पादन वृद्धिमा कम सफलता देखिएको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, २०७८-७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा कोदो खेती भएको थियो र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो। यद्यपि २०७९-८० मा खेतीको क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टरमा पुगेको र उत्पादन ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको तथ्यांक रहेको छ।
यस वर्षदेखि राष्ट्रिय स्तरमा कोदो दिवस मनाइएपछि, यसले कोदोको उत्पादन र यसका परिकारहरूको महत्वप्रति जनचेतना फैलाउने अपेक्षा गरिएको छ।