काठमाडौं, साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०३१ को महिला विश्वकप फुटबलमा सहभागी हुने दीर्घकालीन लक्ष्यसहित उमेर समूहको तयारीलाई तीव्रता दिएको छ।
एएफसी महिला यु–२० एसियन कप छनोट खेलका लागि भुटान प्रस्थान गर्नुअघि आयोजित बिदाइ कार्यक्रममा एन्फाका महासचिव किरण राईले यु–२० महिला राष्ट्रिय टोलीलाई ‘ड्रिम टिम’को संज्ञा दिँदै आगामी ६ वर्षको योजना सार्वजनिक गरेका हुन्।
“हामी २०३१ मा विश्वकप खेल्ने मिसनमा छौं,” महासचिव राईले भने, “तपाईंहरूको यात्रा अहिलेबाट सुरु भएको हो। हामीसँग ६ वर्षको समय छ, त्यसबीचमा सुधार गर्दै अगाडि बढ्नुपर्छ।”
एन्फाले यसअघि सन् २०२६ को एसियन कप र २०२७ को विश्वकपमा छनोट हुने लक्ष्य लिएको थियो। तर, उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले घरेलु टोलीसँग पराजित भएपछि त्यो सपना अधुरै रह्यो।
त्यसपश्चात नेपाल हाल साफ महिला च्याम्पियनसिपबाहेक अन्य मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिएको छ। यद्यपि एन्फाले उमेर समूहका खेलाडीहरूलाई केन्द्रमा राखेर दीर्घकालीन योजना सुरु गरेको छ। तर उमेर समूहका टिमहरू पनि हालसम्म खासै प्रभावशाली नतिजा दिन सकेका छैनन्।
हालै सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग ३–२ र ४–० को हार व्यहोर्दै उपविजेतामा सीमित हुनुपरेको थियो। महासचिव राईले त्यसलाई हार नभई सिकाइको अवसरको रूपमा व्याख्या गरे।
“सेकेन्ड हुनु हार होइन। बंगलादेशमा सिकेका अनुभवहरूले टोलीलाई अझ परिपक्व बनाएको छ,” उनले भने, “तपाईंहरू अहिलेको गोल्डेन टिमको सशक्त ब्याकअप हो।”
यु–२० टोली आगामी भदौ २३ देखि २८ गते (अगस्ट ६–११, २०२५) सम्म भुटानमा आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोटमा सहभागी हुनेछ। नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ आयोजक भुटानसहित उत्तर कोरिया र साउदी अरब जस्ता चुनौतीपूर्ण प्रतिस्पर्धी छन्।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। एन्फाले यही टोलीलाई भविष्यको आधार मान्दै महिला फुटबलको पुनःउत्थान गर्ने योजना बनाएको छ।