ढोरपाटन, बागलुङ-बागलुङको निसीखोला गाउँपालिका–६ का टेकध्वज घतान यो बर्खामा पनि टीकाधाराको अग्लो लेकमा पुराना थाङ्नाले बेरिएको गोठभित्र बसेका छन्। समुद्री सतहबाट ४,२०० मिटर उचाइमा चिसो सयर गर्दै उनले ५० वर्षदेखि भेडापालन गर्दै आएका छन्।
“यस्तो जाडो छ, सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ”, ६४ वर्षीय घतानको गुनासो छ। उनीसँगै रुकुम, रोल्पा र म्याग्दीका सात जना गोठालाको टोली अहिले टीकाधारामा झन्डै पाँच हजार भेडा लिएर बसिरहेका छन्।
चिसोमा पनि न्यानो सहायता छैन
भेडी गोठालाहरू गर्मीमा लेक र जाडोमा बेँसी ओहोरदोहोर गर्छन्। तर बर्षौंदेखि उनीहरू राज्यबाट सहयोग पाउनबाट वञ्चित छन्।
घतान भन्छन्, “बेलाबेलामा कर्मचारी आउँछन्, नाम टिप्छन्, तर दिइने बेला केही पनि पाइँदैन। सरकार किसानलाई अनुदान दिन्छ भन्छ, हामी किसान होइनौं र?”
त्रिपाल र सोलारको माग
रुकुमपूर्वका गोठाला सत्यराम विश्वकर्माले पनि यही पेशामा आफ्नो जीवन खर्चिरहेका छन्। “गाउँमा बसेर तीन सय भेडा पाल्न सकिन्न, ठाउँठाउँमा गोठ सारेर बस्नुपर्छ”, उनी भन्छन्, “गोठ बनाउन त्रिपाल, रातमा उज्यालोका लागि सोलार दिए ठूलो राहत मिल्थ्यो।”
उनका अनुसार, बर्षमा कम्तीमा तीन–चार ठाउँमा गोठ सारेर बस्नुपर्ने बाध्यता हुन्छ।
पर्यटकको उपद्रवले गोठालाको पिरलो थपियो
पछिल्लो समय बुकीपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढेको छ। तर यसले गोठालालाई राहत होइन, उल्टो समस्या थपिदिएको छ।
गोठाला लेकबहादुर विक भन्छन्, “पर्यटक भेडाको बथानमा छिरेर नाच्न थाल्छन्, चिच्याउँछन्। भेडा डराएर भाग्छन्। त्यसपछि समेट्न धेरै समय लाग्छ।”
उनी थप्छन्, “उल्टै हामीले केही भन्न खोज्दा गाली पनि खाइन्छ।”
असोजपछि मात्रै बेँसी झर्ने तयारी
अहिले टीकाधारा क्षेत्र बागलुङ, रोल्पा, रुकुम, डोल्पा र म्याग्दीका गोठालाले भरिएको छ। उनीहरू असोज लागेपछि मात्रै बेँसीतिर झर्ने तयारीमा छन्।
तर अहिले उनीहरूको साझा आवाज एउटै छ —
“सरकारले ज्याकेट, त्रिपाल, सोलार जस्ता आधारभूत सुविधा दिए पनि हुन्थ्यो।”