भोजपुर, साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा प्रसूति भवन निर्माण गरिएको छ । यस निर्माणसँगै स्थानीयवासीलाई स्वास्थ्य सेवा लिनका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ ।
वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार वडा कार्यालयको पहलमा २५ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । उनका अनुसार, संघीयता कार्यान्वयनपछि वडा विभाजन हुँदा कोट क्षेत्रमा कुनै संरचना नहुँदा स्वास्थ्य सेवामा समस्या परिरहेको थियो । यही समस्यालाई मध्यनजर गर्दै प्रसूति भवन निर्माण थालिएको वडाध्यक्ष नेपालले जानकारी दिए ।
“स्थानीयवासीको समस्या बुझेर प्रसूति भवन निर्माण गरेका हौं,” उनले भने, “अब स्वास्थ्य सेवा लिनका लागि घण्टौं लगाएर बोकेर सदरमुकाम जानुपर्ने बाध्यता हट्नेछ ।”
वडा सदस्य प्रेमकुमारी श्रेष्ठले भवन निर्माणपछि गाउँमै सुरक्षित रुपमा प्रसूति सेवा पाउने वातावरण बनेकोमा खुशी व्यक्त गरिन् । “यातायातको सुविधा नभएको अवस्थामा डोको वा स्ट्रेचरमा बोकेर सदरमुकाम लैजानुपर्ने बाध्यता थियो,” श्रेष्ठले भनिन्, “अब यस्तो समस्या हट्नेछ ।”
स्थानीयवासी विशाल राईले पनि भवन निर्माणले ठूलो राहत मिल्ने बताए । उनले भवनको सुरक्षा तथा दीर्घकालीन संरक्षणका लागि घेराबारा र पहिरोबाट जोगाउन पर्खाल लगाउनुपर्ने आवश्यकता रहेको बताए ।
स्थानीयवासीले स्वास्थ्य सेवा राज्यको आधारभूत जिम्मेवारी भएकाले यसप्रति अझ गम्भीर भएर काम गर्नुपर्ने माग गरेका छन् ।
यस प्रसूति भवन सञ्चालनमा आएपछि विशेषगरी गरिब, विपन्न तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने आमालाई धेरै राहत पुग्ने अपेक्षा गरिएको छ ।