काठमाडौं, साउन १६ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। एक वर्षपछि पुनः सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठकले तय गरेका प्रमुख एजेन्डाहरू प्रस्तुत गरेका छन्।
बैठकमा पार्टीभित्र देखिएको असहमति, नेतृत्वविरुद्ध उठाइएका आलोचना, तथा सांगठनिक पुनर्संरचनाबारे विस्तृत छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।
पार्टी उपमहासचिव जनार्दन शर्माले केही समयदेखि नेतृत्व हस्तान्तरणको माग गर्दै आएका छन्। उनले विशेष महाधिवेशन बोलाउने, संगठनको वैचारिक स्पष्टता कायम गर्ने र नयाँ पुस्ताको प्रतिनिधित्वलाई सशक्त बनाउने जस्ता प्रस्तावहरू अगाडि सारेका छन्।
बैठकले आन्तरिक विवाद समाधानका साथै आगामी राजनीतिक कार्यक्रम, जागरण अभियान तथा केन्द्रीय समितिको बैठकको मिति पनि तय गर्ने तयारी गरेको छ।
पार्टीका एक नेताका अनुसार, “पार्टीभित्रको असहमति समाधान गर्दै आगामी आन्दोलन र रणनीति तय गर्ने विषय बैठकको मूल फोकस हो।”
यसपटकको स्थायी समिति बैठकमा ४४ जना सदस्य सहभागी छन्, जसमा १२ जना महिला छन्। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनयन गरिएको छ, तर उनको नाम औपचारिक रूपमा सूचीमा समावेश भएको पुष्टि भने हुन बाँकी छ।
विश्लेषकहरूका अनुसार, यो बैठकले माओवादी केन्द्रभित्रको नेतृत्व संकट र वैचारिक अस्पष्टतालाई सम्बोधन गर्ने महत्वपूर्ण मोड बन्न सक्छ।
