बासुलिङ धार्मिक सेवा समितिका पदाधिकारी, स्थानीय युवा तथा समाजसेवीहरूको सक्रिय सहभागितामा शुक्रबार सरसफाइ गरिएको हो। समितिका उपाध्यक्ष विनोद प्रसाद भट्टका अनुसार मन्दिर परिसर वरपरका प्लास्टिक, झारपात, हिलो–माटो हटाएर वातावरण सफा बनाइएको हो।
धार्मिक स्थललाई सफा, स्वच्छ र व्यवस्थित बनाउन तथा सर्वसाधारणमा सरसफाइप्रतिको चेतना बढाउन कार्यक्रमको आयोजना गरिएको समिति सदस्य भानबहादुर चन्दले जानकारी दिए। "आफ्नो मन्दिर आफैं बनाऔं" अभियानअन्तर्गत सुरु गरिएको सरसफाइ अभियानलाई अब नियमित बनाइने पनि उनले बताए।
कार्यक्रम अन्तर्गत मन्दिरसम्म पुग्ने बाटोको मर्मतसमेत गरिएको छ। समिति सचिव नवराज भट्टका अनुसार धामी खेतदेखि मन्दिरसम्मको झण्डै १०० मिटर पदमार्ग स्थानीयहरूद्वारा हातैले खनेर मर्मत गरिएको हो।
सरसफाइ अभियानप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै बासुलिङ धार्मिक सेवा समितिको प्रयासको प्रशंसा गरेका छन्। भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग पनि गरिएको छ।
बासुलिङ धामलाई बरदानी देवताको धामका रूपमा चिनिन्छ। जनविश्वासअनुसार यहाँ चोखो मनले धुपबत्ति र पूजापाठ गरेमा मागेको मनोकामना पूरा हुने विश्वास रहेको छ। विशेषगरी साउन महिनामा टाढा–टाढाबाट दर्शनार्थीहरूको घुइँचो लाग्ने समिति सदस्य धौलसिंह धामीले बताए।
निष्कर्ष
धार्मिक आस्थाका केन्द्रहरूलाई स्वच्छ राख्न स्थानीयको सक्रियता र श्रमदानको उदाहरणस्वरूप बासुलिङ मन्दिरमा गरिएको सरसफाइ अभियान प्रेरणादायी बनेको छ। अब यस्तो अभियानलाई निरन्तरता दिइनुपर्ने आवश्यकता देखिएको छ।
