१५ दिनमै २० जना डेंगी संक्रमित
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार, साउन महिनाको पहिलो १५ दिनमा ७९८ जनाको परीक्षण गर्दा २० जनामा डेंगी पोजेटिभ देखिएको हो। तीमध्ये १४ जना चितवन जिल्लाका बासिन्दा हुन् भने बाँकी ६ जना अन्य जिल्लाबाट आएका हुन्।
भरतपुर महानगरपालिका–७ का सात जना, खैरहनी नगरपालिकाका तीन जना, रत्ननगर तथा कालिका नगरपालिकाका दुई–दुई जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये पाँच जना पुरुष र नौ जना महिला रहेका छन्।
जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार वर्षा र घामको मिलाजुलो कारणले एडिस जातको पोथी लामखुट्टे सक्रिय हुने भएकाले साउनदेखि असोजसम्म डेंगीको जोखिम बढी हुन्छ। यो लामखुट्टे प्रायः बिहान र बेलुकाको समयमा टोक्ने गर्छ।
प्रमुख दिनेश रुपाखेतीका अनुसार, डेंगी फैलनुमा घर वरिपरी सफा पानी जम्ने ठाउँ—जस्तै प्लास्टिकका भाँडाकुँडा, टिनका डब्बा, टायर, गमला, कुलर आदि—मुख्य कारण हुन्।
डेंगीको लक्षणमा आँखा दुख्ने, टाउको भारी हुने, जोर्नी र मांशपेशी दुख्ने, शरीरमा रातो दाग आउने, रक्तस्राव हुने, उच्च ज्वरो आउने आदि छन्। रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय हो।
३२ जनामा स्क्रब टाइफस पुष्टि
त्यस्तै अवधिमा ३२ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २३ जना चितवन जिल्लाका हुन् भने ९ जना अन्य जिल्लाबाट आएका हुन्।
स्क्रब टाइफस रोग मुसामा पाइने माइट नामक किराले टोकेर सर्ने गर्छ। यो रोग एक व्यक्तिबाट अर्कोमा सर्दैन।
जनस्वास्थ्य कार्यालय प्रमुख रुपाखेतीका अनुसार, रोग ओरिएन्टिया सुसुगामुसी नामक जीवाणुबाट फैलिन्छ। माइटहरू प्रायः झाडी, खेतबारी, वनजङ्गल र फोहोर क्षेत्रमा पाइन्छन्।
सावधानी अपनाउन आग्रह
रोग नियन्त्रणका लागि खेतबारी, घाँस काट्न वा वनजङ्गल जानुअघि पूरै शरीर ढाक्ने कपडा लगाउन, जुत्ता अनिवार्य रूपमा प्रयोग गर्न, चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याउन र भूइँमा नबस्न जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
स्क्रब टाइफसका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका प्रमुख अङ्गहरू प्रभावित हुने, तथा टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दागमा परिणत हुने उल्लेख छन्।