पोखरा, साउन — पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई आपसमा जोड्ने गरी निर्माण गरिने ‘लेक टु लेक’ साइकल ट्र्याकको गुरुयोजना तयार भएको छ। विकास साझेदार एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त ट्र्याकले पोखराको दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण हुने ११७ किलोमिटर लम्बाइको साइकल ट्र्याक पर्यटकीय पूर्वाधारको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। "यसले संसारभरिका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षित गर्नेछ," उहाँले भन्नुभयो, "हिमालको दृश्यावलोकनसहित तालको किनारमा साइकलिङ गर्ने अवसर प्रदान गर्ने यो ट्र्याक पोखराको पर्यटन प्रवर्द्धनका लागि कोसेढुंगा सावित हुनेछ।"
उहाँले वातावरणीय दृष्टिकोणले पोखरा स्वच्छ, सुन्दर र आकर्षक रहेको उल्लेख गर्दै यो पूर्वाधारले मानव स्वास्थ्य र वातावरण संरक्षणमा पनि योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
साइकल ट्र्याक इनर र आउटर गरी दुई मुख्य रुटहरूमा निर्माण हुनेछ, जसमा पोखराका सबै प्रमुख तालहरूलाई भित्र र बाहिरका मार्गमार्फत एक आपसमा जोड्ने योजना छ। साथै, विभिन्न स्थानहरूमा कनेक्टिङ रुटहरू समेत निर्माण गरिने भएकाले ट्र्याकको कुल लम्बाइ करिब ११७ किलोमिटर पुग्ने आयोजना व्यवस्थापक कविता पौडेलले जानकारी दिनुभयो।
गुरुयोजना तयार भइसकेपछि एडिबी मिसन तथा सरोकारवाला पक्षहरूसँग छलफल गरिएको छ भने एडिबी टोलीले परियोजनाको स्थलगत अवलोकन समेत गरेको पौडेलले बताउनुभयो।
यो परियोजना पोखराको हरित, दिगो र पर्यावरणमैत्री विकासलाई अगाडि बढाउने उद्देश्यले अघि बढाइएको महानगरले जनाएको छ।
