काठमाडौँ । संखुवासभामा निर्माणाधीन अपर तमोर जलविद्युत् आयोजनाको चिनियाँ कामदारहरू बसोबास गर्ने ब्यारेकमा शुक्रबार बिहान तोडफोड भएको छ। आयोजनाका अनुसार १३ वटा झ्याल, ६ वटा ढोका, १ थान हलोजेन बत्तीसहितका संरचनामा क्षति पुगेको छ।
तमोर इनर्जी आयोजनाकी संयोजक सम्झना थापा क्षेत्रीले आयोजनाविरुद्ध आन्दोलनरत समूहले ब्यारेकमा तोडफोड गरेको आरोप लगाएकी छन्। उनका अनुसार ‘अपर तमोर सङ्घर्ष समिति’ का संयोजक वीरबल लिङ्खिम स्वयं पनि घटनामा संलग्न रहेको दाबी गरिएको छ।
तर, लिङ्खिमले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्। उनले आफू नेतृत्व गरेको आन्दोलन शान्तिपूर्ण भएको दाबी गर्दै भने, “मैले नेतृत्व गरेको आन्दोलन शान्तिपूर्ण छ। आज तोडफोड भएको खबर सुन्दा म स्वयं अचम्ममा परेको छु।”
सङ्घर्ष समितिले साउन ११ गतेदेखि ढुवानीका साधनमा रोक लगाउनेजस्ता आन्दोलनका कार्यक्रम अघि सारेको छ। लिम्बु समुदायको मुन्धुमी स्थलमा जलविद्युत् आयोजना नबनाउन माग राख्दै स्थानीयवासी आन्दोलनरत छन्।
तोडफोडको खबर पाएपछि प्रहरी चौकी सिवाबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। “सिवा चौकीबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थलमा पुग्दा तोडफोड भएको पाइएको छ,” उनले भने, “घटना गराउनेहरू हाल फरार छन्, खोजतलास तीव्र पारिएको छ।”