काठमाडौँ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखिएको बहसलाई स्वाभाविक भनी चित्रण गर्दै नेतृत्वलाई फुटको सन्देह नगर्न आग्रह गरेका छन्। शनिबार स्थायी समितिको बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै पुनले पार्टी फुट्ने हल्लाहरू निराधार भएको स्पष्ट पारे।
"हामी हल्लाखल्ला गरेर होइन, गम्भीर रूपमा काम गरेर एकताको दिशामा अघि बढिरहेका छौं," भन्दै उनले एकीकृत समाजवादी र नेकपासँग विचार मिलाएर सहकार्य मात्र होइन, एकताको औपचारिक प्रक्रिया अघि बढिसकेको बताएका छन्।
उनको भनाइले माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा उठेका असहमति र मतभेदहरूलाई पनि राजनीतिक स्वाभाविकता मान्दै समाधान संवादमै खोज्ने संकेत देखिएको छ। उपमहासचिव जनार्दन शर्मासँगको दूरीलाई लिएर सञ्चारमाध्यममा आएको चर्चा सम्बन्धमा पुनले बोले, “मतभेद हुन्छन्, तर त्यो पार्टी फुटको कारण बन्दैन। नेतृत्वभित्रका बहसहरू निरन्तर छन्, त्यो अन्ततः सहमति र समायोजनमै पुग्नेछ।”
पुनको यो भनाइले माओवादी केन्द्र अहिले नेतृत्व, दिशा र संगठनको स्वरूपबारे गहिरो समीक्षा र पुनर्संरचनाको प्रक्रियामा रहेको पुष्टि गर्छ।
वर्तमान वाम राजनीतिक समिकरणमा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपाबीच नजिकिएको सम्बन्ध वाम एकताको नयाँ सम्भावनाको रूपमा हेरिएको छ। पुनका शब्दहरूमा, "राजनीतिमा निर्णय हल्लाले होइन, शान्त र गम्भीर प्रक्रियाले हुन्छ। हामी त्यही बाटोमा छौँ।"
यसै सन्दर्भमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि पछिल्ला दिनहरूमा वामपन्थी दलहरूसँग व्यापक संवादमा सक्रिय छन्। पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरू फेरि एउटै छातामुनि आउने संकेतहरूलाई पुनको धारणा थप पुष्टि दिने खालको देखिएको छ।
पुनको अभिव्यक्ति, माओवादी केन्द्र फुट्नेभन्दा पनि अझ संगठित र सामूहिक रूपमा अघि बढ्ने रणनीतिमा रहेको संकेत हो।