रामेछाप — लगातारको वर्षासँगै आएको बाढीले रामेछापको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने भटौली खोलाको पक्की पुलमा क्षति पुर्याएको छ। बाढीका कारण पुलको पकरबासपट्टि कटान हुँदा सडकको एक भाग भत्किएको र ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार दुईपाङ्ग्रे सवारीसाधन बाहेक अन्य गाडीको आवागमन तत्कालका लागि बन्द गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पुल जोखिमपूर्ण भएकाले सुरक्षा सतर्कता अपनाउनुपर्ने बताए।
रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने यस पुललाई काठमाडौं जानेसमेत वैकल्पिक मार्गको रूपमा प्रयोग गरिँदै आएको थियो। गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाबाट राजधानी जान यही बाटो प्रयोग हुने गरेको थियो।
पुल क्षतिग्रस्त भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय प्रशासनको टोली बाटो खुलाउने प्रयासमा जुटेको छ।
प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, तथा सुरक्षानिकायका प्रमुखहरूको टोलीले आज बिहानै स्थलगत निरीक्षण गरी सम्बन्धित निकायलाई मर्मत कार्य तत्काल अघि बढाउन निर्देशन दिएको छ।
स्थानीय वासिन्दा केदारप्रसाद ढुङ्गेलका अनुसार बाढीले बनाइएका संरचनासमेत बगाएको छ भने खाँडादेवी–४ का वडाध्यक्ष कृष्ण पौडेलले बाढीको कटान सुरु हुँदा सम्बन्धित निकायलाई जानकारी दिइएको भए पनि बेवास्ता गरिएको गुनासो गरे।
पुल बन्द भएपछि हाल रामेछाप सदरमुकाम तथा काठमाडौं–तराईसँगको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध बनेको छ।