पर्वत, साउन १८ — लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा यस वर्षकै उच्च बहाव मापन गरिएको छ। नदीको सतहमा पानीको मात्रा ह्वात्तै बढेपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणीबजार लगायतका तटीय क्षेत्र डुबानको उच्च जोखिममा परेका छन्।
गेज रिडर कृष्णप्रसाद सुवेदीका अनुसार आज बिहान कालीगण्डकी नदीको सतह ६ मिटर ४० सेन्टिमिटरसम्म पुगेको छ, जुन यस वर्षको अहिलेसम्मकै उच्च मापन हो। बिहान ७ बजेतिर यो मापन ७.४० मिटरसम्म पुगेको थियो। यद्यपि, अहिले वर्षा रोकिएकाले बहाव क्रमशः घट्ने अनुमान गरिएको छ।
अत्यधिक वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लामा नदीले सतह पार गरेको छ। जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीबेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका क्षेत्र हुन्।
यसबीच, विश्वकै ठूलो मानिने शालिग्राम शिला पनि डुबानमा परेको छ। पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा अवस्थित यो धार्मिक स्थल डुबानमा पर्दा स्थानीय पुजारी तथा भक्तजन चिन्तित बनेका छन्। तटबन्ध र ग्याबियन संरचना समेत पानीले पुरिएकाले शालिग्राम क्षेत्रभित्रका सत्तल र दर्शन गर्ने पूर्वाधारमा पूर्णरूपमा क्षति पुगेको स्थानीय तिलक पराजुलीले जानकारी दिए।
‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएका भए पनि बाढीको चाप कम हुन सकेको छैन। बाँधका कारण बाढीको बहाव तटीय बस्तीहरूतर्फ मोडिएको र यसले सेतीखोला क्षेत्रलाई समेत जोखिममा पारेको हो।
कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीवेणीबजार क्षेत्रका करिब २ सय व्यापारी र सर्वसाधारण त्रासमा परेका छन्। सन् २००९ (वि.सं. २०६६ असोज २१) मा यही क्षेत्र डुबानमा पर्दा तीन दर्जनभन्दा बढी घर विस्थापित भएका थिए। त्यसपछि बर्सेनि मनसुनसँगै बाढीको डरले स्थानीयमा चिन्ता थपिँदै आएको छ।
स्थानीय व्यवसायी विष्णु न्यौपानेका अनुसार शालिग्राम शिला डुबिसकेको छ भने बजार क्षेत्रमा पानी अझै नपुगे पनि सतर्कता अपनाइएको छ। अधिकारीहरूले भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय बासिन्दालाई सचेत रहन आग्रह गरेका छन्।