बैतडी १९ साउन २०८२, आईतबार-बैतडीका तेजसिंह कार्की विगत २५ वर्षदेखि परम्परागत गोरस प्रशोधन उपकरणहरू — ठेकी, बिण्णो, मदानी, नेती र थकाइलोका पोडा — को संरक्षण र बिक्री गर्दै आएका छन्।
दशरथचन्द नगरपालिका–४ शाहीलेक बजारमा बिक्री केन्द्र सञ्चालन गर्दै आएका कार्कीले टिमुरको काठबाट बनेको मदानी, थकाइलोको बोक्राबाट तयार गरिएका पोडा, र अल्लो तथा केतकीको डोरीबाट निर्मित नेती नियमित रूपमा बिक्री गरिरहेका छन्। उनका अनुसार गिठीको बिण्णोमा टिमुरको मदानी र थकाइलोको पोडा प्रयोग गरेर तयार पारिएको मोही अत्यन्त स्वादिलो हुन्छ।
“अचेल ठेकी र बिण्णो पाइन मुस्किल हुन थालेको छ। पुराना कालिगडहरू अब छैनन्,” उनले भने। हाल मदानी रु. ४५० र पोडा रु. १५ मा बिक्री भइरहेको छ।
कालिगड सिप लोप हुने अवस्थामा
केही वर्षअघिसम्म दशरथचन्द नगरपालिका–६, शेरा, नकडी, पञ्चेश्वर, शिवनाथ, श्रीकोटलगायत क्षेत्रका चुनारा थरका कालिगडहरू ठेकी र बिण्णो निर्माणमा सक्रिय थिए। तर सामाजिक अगुवा गोविन्दराज जोशीका अनुसार, ती सिपालुहरूको निधनसँगै परम्परागत सीप पनि हराउन थालेको छ।
तर, अझै पनि केही युवाले सिप जोगाइरहेका छन्। पञ्चेश्वर गाउँपालिका–४ का धर्मराम ओडले केही गाउँहरूमा अझै पनि परम्परागत बिण्णो निर्माण भइरहेको जानकारी दिए। पानीको सहायताले घुमाइने पङ्खा प्रयोग गरेर गिठीको काठबाट ठेकी र बिण्णो बनाउने परम्परा जीवित रहेको उनले बताए।
गाल्युँ, मैरी जस्ता परिकार हराउँदै
गोरसजन्य परिकारको कुरा गर्दा गाल्युँ र मैरी जस्ता परम्परागत परिकारहरू लोप हुने अवस्थामा पुगेका छन्। भैंसी पालन घटेसँगै मोहीबाट गाल्युँ बनाउने चलन हराएको छ। मसिनो कोराको कपडामा झुन्ड्याएर तयार पारिने बाक्लो थिग्रो पदार्थ गाल्युँको रुपमा चिनिन्थ्यो। यस्तै, चामलमा मोही हालेर पकाइने 'मैरी' जस्ता परिकार पनि अहिले भेटिन्नन्।