नेपालगञ्ज, बाँके –नेपालगञ्ज उपमहानगरपालिकामा मलको अभाव र कालोबजारीको आरोप लगाउँदै स्थानीय कृषक तथा नागरिकहरूले आइतबार उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। प्रदर्शनकारीहरूले स्थानीय सरकार जिम्मेवार नबनेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्।
प्रदर्शनका क्रममा किसानहरू ब्यानर, प्लेकार्डसहित ‘मल दे, काम गर’ जस्ता नाराबाजी गर्दै कार्यालय परिसरमा भेला भएका थिए। उनीहरूले मल आपूर्तिमा देखिएको चरम असन्तुलन, कृत्रिम अभाव र केही व्यापारीको संलग्नतामा भइरहेको कालोबजारीको विरोध गरेका हुन्।
"हामी महिनौँदेखि मलको पर्खाइमा छौँ। खेतमा बाली सुक्दैछ, तर मल पाइँदैन। केही व्यापारीले त दोब्बर मूल्य लिएर मल बेचिरहेका छन्," नेपालगञ्जका एक किसान, रामेश्वर चौधरीले बताए।
प्रदर्शनकारीहरूका अनुसार पटक–पटक आग्रह गर्दा पनि उपमहानगरले समस्या समाधान गर्न चासो नदिएकोले दबाबस्वरूप कार्यालय घेरिएको हो। आन्दोलनमा सहभागी किसान संघ, युवा संगठन र स्थानीय प्रतिनिधिहरूले तत्काल निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले भने, "हामीले मल आपूर्तिका लागि सम्बन्धित निकायसँग पटक–पटक माग गरिसकेका छौँ। कालोबजारीको आशंका छ भने अनुसन्धानका लागि प्रशासनलाई सिफारिस गर्नेछौं।"
प्रदर्शनको कारण कार्यालयको नियमित सेवा केही समयका लागि प्रभावित भएको थियो। प्रशासनले घटनाको अनुगमन गरिरहेको जनाउँदै किसानहरूलाई संयम अपनाउन आग्रह गरेको छ।
नेपालगञ्जलगायतका तराई क्षेत्रका किसानहरू हाल बर्खे धानको रोपाइँको समयमा मल नपाउँदा उत्पादनमा ठूलो असर पर्ने खतरा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइरहेका छन्।