काठमाडौं— योजनाविना र तयारी बिना लिइने कर्जा भविष्यमा गम्भीर आर्थिक बोझ बन्न सक्नेमा विज्ञहरू र नेपाल राष्ट्र बैंकले सचेत गराएका छन्। पछिल्लो समय सर्वसाधारणदेखि व्यवसायीसम्मको कर्जा निर्भरता बढ्दै गएको छ। तर, वास्तविक आवश्यकता, तिर्ने क्षमता, र स्पष्ट योजना विना लिइएको कर्जाले वित्तीय अस्थिरता निम्त्याउने देखिएको छ।
विशेष गरी साना व्यवसाय सञ्चालन गर्नेहरूले पर्याप्त तयारी नगरी कर्जा लिने प्रवृत्ति बढेको छ। बजारको अवस्था, प्रतिस्पर्धाको मूल्यांकन, र व्यावसायिक सल्लाह विना सुरु गरिएका व्यवसायहरू बन्द हुँदा लिइएको कर्जा थप भार बन्ने विज्ञहरूको चेतावनी छ।
त्यस्तै, पछिल्ला वर्षहरूमा उपभोग्य वस्तु—जस्तै घर, सवारीसाधन, मोबाइल, टुर प्याकेज—का लागि लिइने उपभोक्ता कर्जा पनि तीव्र गतिमा बढ्दै गएको छ। ब्याजदरको उतारचढाव, आम्दानीको अनिश्चितता, र महँगीको प्रभावले समयमै कर्जा तिर्ने क्षमता घट्दै गएको देखिन्छ।
नेपाल राष्ट्र बैंकको सुझाव: योजना र अनुशासन अपरिहार्य
नेपाल राष्ट्र बैंकले व्यवसायिक कर्जाको सदुपयोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकका अनुसार यस्तो कर्जा केवल विलासिता नभई प्रगतिको आधार हो। मेसिन खरिद, व्यवसाय स्तरोन्नति, विस्तार र नयाँ व्यापारिक सम्भावनाहरू सिर्जना गर्न यस किसिमको कर्जा उपयोगी हुने जनाइएको छ।
तर, तयारी र योजना विना लिइएको कर्जा आर्थिक भार र तनावको कारक बन्न सक्ने भएकाले कर्जा लिँदा केही मुख्य बुँदामा ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको छ:
-
वास्तविक आवश्यकता मूल्यांकन
-
आम्दानीको सुनिश्चित स्रोत
-
कर्जाको शर्त, ब्याजदर र जरिवाना बारे स्पष्टता
-
अन्य विकल्पको खोजी
राष्ट्र बैंकले भनेको छ, "कर्जालाई सही ठाउँमा लगानी गरौं र आर्थिक अनुशासन अपनाउँदै आफ्नो तथा परिवारको वित्तीय छवि उज्यालो बनाऔं।"
विशेषज्ञहरूका अनुसार, कर्जा लिने निर्णय 'इच्छा'बाट होइन, 'आवश्यकता' र 'क्षमता'बाट निर्देशित हुनुपर्छ। सही व्यवस्थापन, स्पष्ट योजना, र आर्थिक अनुशासनले मात्र कर्जालाई अवसरमा बदल्न सकिन्छ।