नवलपरासी— पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक विस्तार आयोजना चौथोपटक म्याद थप गरिएको छ। राष्ट्रिय गौरवको सूचीमा रहेको यस आयोजना २०७५ साल माघ २४ गतेदेखि सुरु भएको थियो।
निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड ले थपिएको एक वर्षको म्यादमा सबै काम सक्न कठिन हुने जनाएको छ।
पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) का सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार, तेस्रो म्याद सकिएपछि आगामी २०८३ साउन ७ गतेसम्मका लागि चौथो म्याद थप गरिएको हो। “यो अन्तिम म्याद हो,” खनालले भने, “निर्माण कम्पनीले यस अवधिमा काम सकाउने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको हो।”
खनालका अनुसार दाउन्ने बाहेकका क्षेत्रको कालोपत्र सकिएको छ भने दाउन्नेमा हाल ९०० मिटर ढलान कार्य सम्पन्न भइसकेको छ। बाँकी ४ किलोमिटर सडकको ढलान र दुईवटा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको उनले बताए। गिरुवारी खोलाको पुलमा ६ स्ल्याबमध्ये २ स्ल्याबको ढलान सकिएको छ।
उनले थपे, “६५ किलोमिटर चार लेन सडक, साढे १७ किलोमिटर सर्भिस लेन र डिभाइडरसहितको संरचना निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।”
यता, निर्माण कम्पनीका सह–व्यवस्थापक राकेश झाले भने म्याद पर्याप्त नभएको दाबी गरे। “हामीले १८ महिनाको माग गरेका थियौं, तर सरकारबाट एक वर्षमात्रै म्याद थप भएको छ,” उनले भने, “सडकको मूल संरचना सकिन्छ, तर फुटपाथ, साजसज्जा, र सौन्दर्यकरणका काम बाँकी हुन सक्छन्।”
गैँडाकोटको नारायणी नदीको पुलसँग जोडिने १०० मिटर सडक कालोपत्र गर्न बाँकी रहेको र जयश्रीको ठूलो पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी भइरहेको खनालले जानकारी दिए।
हाल आयोजनामा ३०० जना श्रमिक परिचालित छन्। निर्माण कम्पनीले आवश्यक परे थप ६ महिनाको म्याद माग गर्ने तयारीमा रहेको जनाएको छ।
२०७५ माघ २४ मा सुरु भएको आयोजनाअनुसार कुल ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटर र पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटर रहेको छ। पूर्वी खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख रुपैयाँ र पश्चिम खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ। कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ पुग्छ।