म्याग्दी, साउन १९-म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ। हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो।
सिभिल निर्माणको जिम्मा लिएको रसुवा–मल्टी जेभी कम्पनीले अन्नपूर्ण–२, नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरी ४,३१९ मिटर लामो सुरुङ निर्माण कार्य गत हप्तादेखि सुरु गरिसकेको छ। सुरुङको अडिट दुरी ४५९ मिटर रहेको छ।
अन्नपूर्ण–३ सुकेबगरमा निर्माण हुने १२ मिटर अग्लो र ३५ मिटर लामो बाँधबाट ल्याइने पानीलाई १५१ मिटरको उचाइबाट अन्नपूर्ण–२ नौनीबगरस्थित भूमिगत विद्युत्गृहमा खसालेर उत्पादन गरिनेछ। आयोजना रन अफ दर रिभर प्रकृतिको हुनेछ, जसअन्तर्गत विद्युत्गृह, स्विचयार्ड र कन्ट्रोल रुम जमिनमुनि निर्माण गरिनेछ।
रसुवा–मल्टी जेभीका प्रमुख कार्यकारी फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोबोटिक सटकिट उपकरण प्रयोग गरिएको जानकारी दिए। उत्पादन हुने विद्युत् नौनीबगरदेखि ७ किमी माथि रहेको २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुल अनुमानित लागत रु १२ अर्ब ९३ करोड रहेको आयोजनामा नविल बैंक लिमिटेडको नेतृत्वमा छ वटै वाणिज्य बैंकहरुले ७५ प्रतिशत ऋण लगानी गर्नेछन भने बाँकी २५ प्रतिशत प्रवर्द्धक तथा शेयर लगानीकर्ताबाट जुटाइनेछ।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता अनुसार हिउँदमा विद्युत् खरिद दर रु ८.४० र वर्षायाममा रु ४.८० प्रति युनिट तोकिएको छ। आयोजना सम्पन्न भएपछि हिउँदमा १३० गिगावाट उत्पादनबाट रु १ अर्ब ९ करोड र बर्खामा २७७ गिगावाट उत्पादनबाट रु १ अर्ब ३३ करोड आम्दानी हुने अनुमान गरिएको छ।
कालीगण्डकी नदी बेसिनमा ३०० मेगावाटभन्दा बढी क्षमताका तीन जलविद्युत् आयोजना निर्माण अनुमति चरणमा छन्। अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार, ६५ मेगावाटको माथिल्लो कालीगण्डकी र १८० मेगावाटको कालीगण्डकी गर्ज आयोजना पनि निर्माणको तयारीमा छन्।