काठमाडौं --प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको अवाजा (Awaza) सहरमा आयोजना हुने तेस्रो संयुक्त राष्ट्रसंघीय स्थलवन्द राष्ट्रहरूको सम्मेलन (LLDC3) मा सहभागी हुन आज बिहान नेपाल सरकारको प्रतिनिधिमण्डलको नेतृत्त्व गर्दै औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित एक कार्यक्रमका बीच उच्चस्तरीय सम्मानका साथ बिदाइ गरिएको हो। बिदाइका अवसरमा उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक अंगका प्रमुख, सचिवहरू, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू उपस्थित थिए।
प्रधानमन्त्री ओलीको यो भ्रमणलाई नेपालको भू-आवद्ध अवस्थासम्बन्धी अन्तर्राष्ट्रिय संवादमा सशक्त उपस्थितिका रूपमा हेरिएको छ। सम्मेलनमा उनले स्थलवन्द राष्ट्रहरूको विकास, पारवहन सहजता, क्षेत्रीय सहकार्य, र दिगो पूर्वाधार विकासबारे नेपालको धारणा प्रस्तुत गर्नेछन्।
एलएलडीसी३ सम्मेलनमा विश्वका ३२ स्थलवन्द राष्ट्रहरूका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको सहभागिता रहनेछ। सम्मेलनको उद्देश्य अन्तरदेशीय व्यापार, पारवहन प्रणाली र अन्तर्राष्ट्रिय सहयोगमार्फत स्थलवन्द राष्ट्रहरूको समृद्धि प्रवर्द्धन गर्नु हो।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरू, मन्त्रालयका उच्च अधिकारीहरू, पत्रकार र सुरक्षाकर्मीहरू समेत छन्। भ्रमण अवधिमा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका शीर्ष नेताहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली साता अन्त्यतिर नेपाल फर्कने कार्यक्रम रहेको छ।