शिवसताक्षी, साउन १९ ।
आठ महिनादेखि नियमित योग अभ्यास गर्दै आएका झापा शिवसताक्षी नगरपालिका–८ का स्थानीय बासिन्दाहरूले आफ्नो जीवनशैलीमा आएको उल्लेखनीय परिवर्तन अनुभव गर्न थालेका छन् । पतञ्जलि योग समितिको सक्रियतामा सञ्चालनमा रहेको योग कक्षाबाट लाभान्वित हुँदै उनीहरूले तनाव, रक्तचाप, प्रोस्टेट लगायतका अन्य शारीरिक समस्या नियन्त्रणमा आएको बताए ।
पतञ्जलि योग समिति शिवसताक्षी नगर अध्यक्ष मोहन प्रसाद निरौलाले नियमित योग अभ्यासले आफ्नो उच्च रक्तचाप नियन्त्रित हुनुका साथै लामो समयदेखि खाइरहेको प्रोस्टेटसम्बन्धी औषधि नै बन्द भएको अनुभव सुनाए । ‘योगले केवल शरीरलाई सन्तुलित बनाउँछ भन्ने मात्र होइन । आत्मबल, ऊर्जा र दैनिक कार्यक्षमता पनि उल्लेखनीय रूपमा बढाउँछ,’ उनले भने । नगरस्तरीय समितिको आयोजनामा वडा नम्बर ८ को झिलझिले माध्यमिक विद्यालय र ७ नम्बर वडाको भानु मावि साधना केन्द्रमा नियमित योग कक्षा सञ्चालन हुँदै आएका छन् । झिलझिले विद्यालयमा ४५ जना र भानु माविमा ४० जना महिला–पुरुष नियमित सहभागी भइरहेका छन् । यी कक्षाहरूको निरन्तरताले समुदायमा स्वास्थ्यप्रति सचेतना फैलिएको प्रशिक्षार्थीले बताए । यो कक्षा दिनहुँ विहान ४ बजे देखि संचालन भइरहेको छ । यसैक्रममा सोमबार बिहान शिवसताक्षीको प्रसिद्ध धार्मिक स्थल सताक्षीधाम परिसरमा विशेष योग सत्रसमेत आयोजना गरियो । गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले धार्मिक स्थलको प्रचारप्रसारमा पनि योगदान पु¥याएको आयोजकहरूको दावी छ ।
योग अभ्यासको प्रभाव र महत्त्वबारे जानकारी दिँदै पतञ्जलि योग समिति शिवसताक्षी नगरका महासचिव कृष्ण खरेलले योगले केवल शारीरिक स्वास्थ्यमा मात्र नभई मानसिक र आत्मिक उन्नतिमा समेत प्रभाव पार्ने बताए । उनका अनुसार नियमित योग अभ्यासले शरीरमा लचीलोपन, बलियोपना र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मानसिक रूपमा ध्यान, प्राणायाम र आसनले तनाव, चिन्ता, अस्थिरता घटाउने उनले बताए । ‘आत्मिक दृष्टिकोणले हेर्दा योगले सहनशीलता, धैर्य र जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत पु¥याउँछ,’ उनले भने । समितिका कोषाध्यक्ष रामजी कार्कीले भने, ‘योगको निरन्तर अभ्यासले व्यक्ति आत्मनिर्भर बन्छ, निर्णय क्षमतामा वृद्धि हुन्छ र सामाजिक उत्तरदायित्वप्रति पनि सजग बनाउँदो रहेछ । यही कारणले हामी नियमित कक्षा मार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा लागिरहेका छौं । पतञ्जलि योग समिति झापाले आठ महिनाअघि गठन गरेको नगर समिति अहिले सक्रिय रूपमा सञ्चालनमा छ । नगर अध्यक्ष निरौलाका अनुसार शिवसताक्षी नगरका नगर प्रमुख मेगाहाङ थोप्राको सहजिकरणमा प्राप्त २० हजार रुपैयाँ र विभिन्न सामाजिक संघसंस्था तथा दाताहरूको सहयोगमा सामग्री खरिद गरी कक्षा सञ्चालन भइरहेको छ ।
नगरपालिकाले पनि योग कक्षाका लागि कार्यक्रम नै बनाएर बजेट विनियोजन गरेको थियो । तर स्थानीय तहबाट विनियोजित रकमले पतञ्जली योग समिति शिवसताक्षीलाई छोएन । समितिका सदस्यहरूका अनुसार, नगरपालिकाले ११ वटै वडाका लागि छुट्याएको ४ लाख ४० हजार रुपैयाँको बजेट सीमित व्यक्तिको हातमा पर्न गई मनमानी खर्च गरिएको छ । ‘हामीजस्तो सक्रिय समूहसम्म त्यो रकम आइपुगेन ।’ ‘सुनिन्छ सामाजिक विकास शाखाले आफै योग कक्षा संचालन गरेर आफै भुक्तानी लिई खर्च गर्यो । कहाँ कक्षा संचालनमा आयो कुन शिर्षकमा खर्च भयो हामीले पत्तै पाएनौ,’ समितिका एक सदस्यको आरोप छ । यद्यपि, सामाजिक संघसंस्था र समाजसेवीको सहयोगमा योग कक्षा निरन्तर सञ्चालनमा आएको समितिले बताएको छ । समितिका अनुसार हालसम्म २० जना प्रशिक्षक उत्पादन भइसकेका छन् । जसमा अधिकांश पुरुष छन् । ती प्रशिक्षकहरू हाल आफैँ गाउँगाउँमा योग प्रशिक्षण सञ्चालन गर्न सक्ने भएका छन् । कार्यक्रममा पतञ्जलि योग समिति झापाका सचिव कृष्णप्रसाद ओझा र कमल गाउँपालिकाका महामन्त्री मोहनलाल खनालको उपस्थिति थियो। उनीहरूले योगले व्यक्तिगत स्वास्थ्य सुधार गर्देँ समग्र समाजलाई नै सुसंगठित बनाउने माध्यमको रूपमा काम गर्ने धारणा व्यक्त गरे ।
योग अभ्यासमा जोड दिइरहेका समितिका पदाधिकारीहरूको भनाइमा, शिवसताक्षीमा योग अब ‘स्वास्थ्य सशक्तिकरण’ अभियानकै रूपमा स्थापित हुन थालेको छ । समुदायमा चेतना, अनुशासन र आत्मबलको विकासमार्फत योग अभ्यासले समाज परिवर्तनको सशक्त उपकरणका रूपमा भूमिका खेलिरहेको अधिकांस प्रशिक्षार्थीले बताए ।