काठ्माडाैं । दैलेख जिल्ला प्रहरी कार्यालयले भैरबी गाउँपालिका–१ स्थित जलजलेमा ३१ औं प्रहरी इकाईको रूपमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र भैरबी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारीले सोमबार संयुक्त रूपमा चौकीको उद्घाटन गर्नुभयो ।
धार्मिक स्थल श्रीस्थान र नाभीस्थान पुग्ने भक्तजनको सुरक्षासहित पेट्रोलियम उत्खनन् स्थल र मध्यपहाडी राजमार्ग क्षेत्रमा निगरानी बढाउने उद्देश्यले चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौकीले भैरबी गाउँपालिका–१ र २ तथा महाबु गाउँपालिका–१ र २ का क्षेत्रमा अपराध नियन्त्रण, सुरक्षा चेकजाँच र स्थानीय सुरक्षामा भूमिका खेल्ने बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गैह्रेलो स्थानीय आवश्यकता र जनताको माग अनुसार चौकी स्थापना गरिएको उल्लेख गर्दै चौकीमार्फत शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन नागरिक सहयोग अपरिहार्य हुने धारणा व्यक्त गर्नुभयो ।
भैरबी गाउँपालिका उपाध्यक्ष देबी भण्डारी र जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले समेत चौकी स्थापनाको महत्त्वबारे धारणा राख्नुभएको थियो । कार्यक्रमपछि सीडियो गैह्रेलो चौकी इञ्चार्ज वरिष्ठ हवल्दार नृपबहादुर बीसीलाई नागरिकहरूसँगको समन्वय र सूचना आदान–प्रदानलाई अझ सशक्त बनाउन निर्देशन दिनुभएको थियो ।
हाल दैलेखमा एक जिल्ला प्रहरी कार्यालय, तीन इलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरू, अस्थायी चौकी, ट्राफिक प्रहरी कार्यालय, अदालत र प्रशासनमा कार्यरत सुरक्षा गार्डसहित ३१ वटा प्रहरी इकाई सञ्चालनमा रहेको जनाइएको छ ।
मध्यपहाडी र कर्णाली राजमार्गमा सवारी चाप बढ्दो रहेकाले प्रहरी इकाई तथा जनशक्ति अपूरो रहेको र थप व्यवस्थापनको माग स्थानीय तहबाट उठिरहेको छ ।