ताप्लेजुङ, साउन २० –समुद्र सतहदेखि करिब ४,१०० मिटरको उचाइमा अवस्थित ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला बस्ती, नेपालको प्रमुख हिमाली बस्तीहरूमध्ये एक हो।
पूर्वी नेपालका अत्यन्तै दुर्गम क्षेत्रमध्ये पर्ने यो बस्ती ढोक्प्या (शेर्पा) समुदायको परम्परागत बसोबास क्षेत्रका रूपमा चिनिन्छ। हिमालको काखमै फैलिएको यो बस्तीमा आज पनि ढोक्प्या समुदायले आफ्ना परम्परागत संस्कृति, रहनसहन, धर्म र जीवनशैली जोगाइरहेका छन्।
हिमाली जीवनशैलीसँग गहिरो सम्बन्ध राख्ने ढोक्प्या समुदायले धार्मिकरूपमा बौद्ध धर्मलाई अँगाल्दै आएका छन्। गुम्बा, चोर्तेन, प्रार्थना झण्डा र लामाहरूको उपस्थिति यहाँको सामाजिक र धार्मिक जीवनशैलीको अभिन्न अंग बनेको छ।
अत्यन्तै कठिन भौगोलिक अवस्थाबीच बसोबास गर्दै आएका यहाँका स्थानीयवासी आज पनि परम्परागत कृषि, पशुपालन र जडीबुटी संकलनमा निर्भर छन्।
प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र धार्मिक विविधताले भरिपूर्ण तोक्पेगोला बस्ती आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ।
यद्यपि, आधारभूत सुविधाको अभाव, यातायात तथा सञ्चार सेवा नपुगेका कारण यो बस्ती अझै पनि विकासका दृष्टिले पछि परिरहेको छ। स्थानीयवासीहरूले सरकार तथा सरोकारवाला निकायसँग हिमाली बस्तीका समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै आएका छन्।