रुकुम पूर्व, साउन २० –रुकुम पूर्व र बागलुङ जिल्लाको सिमानामा, समुद्र सतहदेखि करिब ४ हजार ४ सय मिटरको उचाइमा अवस्थित जल्पा ताल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनाले भरिएको महत्वपूर्ण गन्तव्यका रूपमा चिनिन्छ।
हिमाली भेगको उच्च भू–भागमा फैलिएको यो ताल स्थानीयवासीका लागि मात्र होइन, पर्यटक, तीर्थयात्री र अनुसन्धानकर्ताका लागि पनि आकर्षणको केन्द्र बनेको छ। चारैतिर डाँडा र हिमाली वनस्पतिले घेरेको जल्पा ताल वर्षौंदेखि मौन शान्तिमा अवस्थित छ।
विशेषगरी साउन र भदौ महिनामा धार्मिक पर्यटकको आगमन बढ्ने जल्पा तालमा स्थानीयवासीले प्रत्येक वर्ष पूजा–आराधना, मेलापर्वजस्ता गतिविधि गर्दै आएका छन्।
यातायातको सहज पहुँच नभएकाले जल्पा ताल पुग्न हालपनि लामो पदयात्रा गर्नु पर्छ। यद्यपि, हालसालै बढ्दो आन्तरिक पर्यटनको लहरसँगै यो तालप्रति युवावर्गको आकर्षण उल्लेख्य रूपमा बढेको छ।
स्थानीय तह र प्रदेश सरकारसँग तालको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि पहल गर्न स्थानीयवासीले आग्रह गर्दै आएका छन्। जल्पा ताललाई व्यवस्थित गरी दिगो पर्यटनस्थलका रूपमा विकास गर्न सकिए यसले समग्र क्षेत्रको सामाजिक तथा आर्थिक upliftment मा योगदान पुग्ने स्थानीयको विश्वास छ।