काठमाडौं — देशभर मनसुन सक्रिय भएसँगै सम्भावित विपद् जोखिमका कारण सरकार सतर्क बनेको छ। मंगलबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री मानवीर राईसहित उच्चस्तरीय छलफल भएको छ।
छलफलमा बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपद्का जोखिम बढिरहेका सन्दर्भमा सरकारका सम्पूर्ण निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। बैठकमा गृहमन्त्रालय, रक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यवाहक प्रधानमन्त्री सिंहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयबीच समन्वयलाई अझ बलियो बनाउनु पर्ने बताए। “सिर्जना हुन सक्ने विपद् पूर्वानुमान गरी तदनुसारको पूर्वतयारी अनिवार्य छ,” उनले भने।
रक्षामन्त्री मानवीर राईले नेपाली सेना सहितका सुरक्षा निकायहरू सधैं तयार अवस्थामा रहेको जानकारी दिँदै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रविधिमैत्री तथा द्रुत गतिमा कार्यान्वयन हुने खालका उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिए।
छलफलमा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्मको वर्षा, क्षति विवरण र पूर्वानुमानसहितको प्रस्तुति दिएका थिए।
मनसुन अझै केही समय सक्रिय रहने भन्दै सरकारद्वारा स्थानीय तहहरूलाई पनि उच्च सतर्कता अपनाउन सूचित गरिएको छ।