काठमाडौं, साउन २० –पूर्वशिक्षामन्त्री एवं संविधानसभा सदस्य कल्पना धमलाले आफ्ना दिवंगत पिताको स्मृतिमा वीर अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेकी छन्।
धादिङबाट निर्वाचित भई शिक्षा मन्त्रीसमेत रहेकी धमलाले सोमबार वीर अस्पतालमा आयोजित एक कार्यक्रममा बिरामी र कुरुवाको सहजताका लागि उपयोगी सामग्रीहरू हस्तान्तरण गरेकी हुन्।
उनले प्रदान गरेका सामग्रीमा –
१. बिरामी कुरुवाका लागि ४७ ओटा सुत्ने बेड,
२. ४३ इन्चको एलईडी टेलिभिजन,
३. खानेपानीका लागि २ वटा RO सिस्टम,
४. नर्सिङ इन्चार्जको कोठाका लागि CCTV क्यामेरा,
५. ३ वटा ट्रलिवाला डस्टबिन,
६. मोबाइल चार्ज गर्ने पोर्ट
लगायतका उपकरणहरू रहेका छन्।
सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसहित मन्त्रालयका उच्च अधिकारी तथा अस्पताल व्यवस्थापनको पनि उपस्थिति थियो।
धमलाले आफ्नो बुबाको सम्झनामा सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि सरकारसँगै व्यक्तिगत तथा संस्थागत पहल पनि महत्वपूर्ण हुने उल्लेख गरिन्।
वीर अस्पताल प्रशासनले पूर्वमन्त्री धमलाको सहयोगलाई स्वागत गर्दै यसले अस्पतालको सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरेको छ।