काठमाडौं, साउन –स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मधेसमा तस्करीको दर अहिलेसम्मकै उच्च भएको आरोप लगाउँदै वर्तमान गृहमन्त्रीको कार्यकाललाई यसको मुख्य कारण बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले तस्करीबाट पैदा भएको ‘इजी मनी’ ले अराजकतालाई मलजल गरिरहेको दाबी गरे। उनले सरकारको मौनता र उदासीनता तस्करी बढ्ने कारण भएको उल्लेख गरे।
“अराजकता बढिरहेको छ, र यसको मूल कारण तस्करी हो,” उनले भने, “सरकारले नियन्त्रण गर्नुको सट्टा तस्करीलाई अझै बढावा दिइरहेको छ। इतिहासमै यति धेरै तस्करी कहिल्यै देखिएको थिएन।”
सांसद सिंहले मधेसमा फैलिएको अराजकतामाथि सरकारले गम्भीर ध्यान नदिएको आरोप लगाए। उनले तस्करीको नेटवर्क र त्यसमा संलग्न शक्तिहरूमाथि तत्काल छानबिन र नियन्त्रणको मागसमेत गरे।
त्यस्तै, सिंहले पूर्वमन्त्री जयप्रकाश गुप्ताको सप्तरीस्थित कञ्चनपुर घरमा दुई रात लगातार हतियारधारी समूहले आक्रमण प्रयास गरेको घटनालाई पनि संसदमा उठाए।
“पूर्वमन्त्री घरमा नभएको बेला हतियारधारी समूहले कामदारलाई कुटपिट गर्दै आतंक मच्चाएको घटना निकै गम्भीर हो,” उनले भने, “सरकारले यस्तो घटनालाई सामान्य रूपमा लिनु हुँदैन। सुरक्षा निकायको तत्परता र जिम्मेवारीबारे प्रश्न उठेको छ।”
सांसद सिंहले मधेस क्षेत्रमा बढ्दो अपराध, तस्करी र असुरक्षाको अवस्थाप्रति सरकारको तत्काल ध्यानाकर्षण गर्दै प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।