काठमाडौं, साउन –काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीचको सहमतिपछि हनुमानढोका दरबार क्षेत्रभित्र रहेको जीर्ण प्रहरी भवन भत्काइने भएको छ।
महानगरका मेयर बालेन्द्र साह र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाबीच मंगलबार कामपा कार्यालयमा भएको दुईपक्षीय छलफलपछि भवन भत्काउने सहमति भएको हो।
दुवै निकायबीच साटासाटको आधारमा ट्राफिक प्रहरीको रामशाहपथस्थित जग्गा नेपाल प्रहरीलाई दिने र त्यसको सट्टामा हनुमानढोका परिसरको भवन महानगरपालिकाले उपयोग गर्ने सहमति भएको छ।
महानगरले सो स्थानमा आकर्षक पोखरी, अवलोकन क्षेत्र र पर्यटकीय पूर्वाधार बनाउने योजना अघि सारेको छ। महानगरको स्वामित्वमा रहेको रामशाहपथको ट्राफिक प्रहरी मुख्यालयको जग्गामा भने ट्राफिक प्रहरी कार्यालय, टावर र कामपा प्रहरी बलको कार्यालय निर्माण गरिनेछ।
यसअघि सम्पदा अभियन्ता यादवलाल कायस्थले सो जीर्ण भवनले दरबार क्षेत्रको सौन्दर्य बिगारिरहेको भन्दै तत्काल भत्काउन सरोकारवाला निकायहरूसँग पत्राचार गर्दै आएका थिए।
“विश्व सम्पदा क्षेत्रमा मापदण्डविपरीत रहेको यो संरचना अन्ततः भत्काउने निर्णयमा पुगेकोमा सन्तोष व्यक्त गर्छौं,” पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले प्रतिक्रिया दिएका छन्।
भवन भत्काएपछि भोटाहिटीस्थित साइबर ब्युरो कार्यालय सामाखुसीस्थित कोरियन सहयोगमा बनेको भवनमा सर्नेछ। भोटाहिटीको खाली हुने ठाउँमा भने काठमाडौँ महानगरपालिकाका २७ वटा वडा कार्यालय बस्नेछ।
हनुमानढोकास्थित उक्त प्रहरी भवन सन् २०१५ तिर निर्माण गरिएको थियो। २०७२ को भूकम्पमा क्षति पुगेको सो भवन हालसम्म मर्मत नगरी प्रयोगमा राखिएको थियो।
यसअघि नेपाल प्रहरीले सो भवन रेक्ट्रोफिट गरी प्रयोग गर्न सकिने तर्क राख्दै आएको थियो। तर, पुरातत्व विभाग, संस्कृति मन्त्रालय र अन्य सम्पदासम्बन्धी निकायको निरन्तर आग्रहपछि भवन भत्काउने निर्णयमा पुगेको हो।
प्रहरी स्रोतका अनुसार सो भवन तीन रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा साना–ठूला गरी पाँचवटा संरचना छन्। मुख्य भवनसहितका संरचना पूर्ण रूपमा जीर्ण र भूकम्पबाट क्षतिग्रस्त अवस्थामा छन्।
सम्पदामैत्री वातावरण निर्माण गर्दै दरबारक्षेत्रको ऐतिहासिक महत्त्व कायम राख्न भवन भत्काइने र त्यसपछिको पुनः संरचनालाई पर्यटक लक्षित बनाउने तयारी गरिएको छ।
हनुमानढोका प्रहरी भवन भत्काउने कार्य केही दिनमै सुरु हुने बताइएको छ।