काठमाडौँ, साउन– लमजुङ जिल्लाका दुध उत्पादक किसानलाई गण्डकी प्रदेश सरकारको प्रोत्साहन कार्यक्रमअन्तर्गत दुध उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले तीनवटा सहकारीमार्फत संकलन गरिएको ६ लाख ४४ हजार ८१८ लिटर दुधको आधारमा प्रतिलिटर पाँच रुपैयाँका दरले ३२ लाख २४ हजार ९० रुपैयाँ अनुदान दिएको हो।
कार्यालयका प्रमुख डा. सुनिल न्यौपानेका अनुसार सहकारी संस्थाले संकलन गरेको दुधको दैनिक विवरणका आधारमा अनुदान रकम वितरण गरिएको हो। “उत्पादनको आधारमा दिइने अनुदान प्रभावकारी देखिएको छ,” उनले बताए।
अनुदानबाट कुल १६० जना किसान लाभान्वित भएका छन्।
यसका साथै कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काउने ६८ जना किसानलाई प्रति पाडीबाच्छी १० हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिएको छ। गत आर्थिक वर्षमा ८३ वटा पाडीबाच्छी हुर्काइएको थियो।
पशु विकास कार्यक्रम अन्तर्गत थप प्रगति
बृहत्तर पशु विकास कार्यक्रम अन्तर्गत दुई वटा समूहमार्फत ३७ वटा नयाँ खोर निर्माण, दुईवटा फार्ममा तारबार, एउटा डिपिङ ट्याङ्की र एउटा बाहिरी सेड निर्माण गरिएको छ।
कार्यक्रमबाट ११ वटा उन्नत नश्लका बोका, विभिन्न यन्त्र उपकरण, र घाँस खेती प्रवर्धन कार्यक्रम मार्फत ४८ जना किसान लाभान्वित भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चार मेट्रिकटन मासु उत्पादनमा वृद्धि भएको छ। यस्तै, गत आर्थिक वर्षमा ६७ वटा व्यावसायिक गाईभैँसी फार्ममा १९७ वटा गाईभैँसीमा थुनेलो रोगको परीक्षण तथा उपचार गरिएको थियो।