२१ साउन, काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) व्याख्यात्मक टिप्पणीसहित पारित हुनुमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन्।
बिहीबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष दाहालले निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसिसी’ विमोचन गर्दै उक्त भनाइ राखेका हुन्। उनले एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित हुनु आफैंमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलनको ढोका भएको बताए।
“जनताका अगाडि सर्वसम्मतरूपमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको छ, त्यो आफैँमा राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन गर्ने ढोका बनेको छ,” प्रचण्डले भने, “माओवादीले छाडेर हिँड्दा जस्ताको तस्तै पास हुने अवस्था थियो, त्यसो हुन दिएनौँ। अब त्यसमा बोल्ने ठाउँ रहेको छ।”
उनले अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूबाट प्राप्त सुझाव र भियना कन्भेन्सनका आधारमा बोल्ने ठाउँ रहने प्रष्ट भएपछि माओवादी केन्द्रको जोडबलमा व्याख्यात्मक टिप्पणीसहित सम्झौता पारित गरिएको जानकारी दिए।
कार्यक्रममा बोल्दै पुस्तकका लेखक तथा माओवादी नेता लीलामणि पोखरेलले बाध्यात्मक परिस्थितिमा पार्टीले व्याख्यात्मक टिप्पणीसहित सम्झौता पारित गर्नुपरेको बताए। उनले एमसिसी सम्झौताको समग्र पक्षलाई समेटेर पुस्तक तयार पारिएको जानकारी पनि दिए।
कार्यक्रममा माओवादी केन्द्रका नेता तथा प्रतिष्ठानका उपाध्यक्ष दीनानाथ शर्माले एमसिसी विषयमा जानकारी लिन चाहने पाठकका लागि पुस्तक उपयोगी र महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।