बाँके, साउन २२ – बाँकेको सिधनिया घाटस्थित राप्ती नदी किनारमा दैनिकजसो अनौठो दृश्य देखिन्छ। नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्न स्थानीय बासिन्दा जोखिम मोलेरै पानीमा होमिन्छन्।
नदीले बर्सेनि बाढीका कारण बगाएर ल्याउने दाउरा तथा काठका टुक्रा स्थानीयका लागि सस्तो इन्धन वा निर्माण सामग्रीको स्रोत बन्न पुगेको छ। बिहानदेखि नै गाउँका महिला, पुरुष, बालबालिका समेत नदी किनारमा जम्मा भएर दाउरा तान्ने, उठाउने, र कहिलेकाहीँ त पौडी खेलेरै सङ्कलन गर्ने दृश्य देखिन्छ।
"दाउरा किनेर ल्याउनु महँगो पर्छ। यहाँ त आफैं नदीबाट ल्याउन पाइन्छ," स्थानीय बासिन्दा सीता खत्रीले भनिन्, "कहिले त पानी बलियो हुन्छ, डर पनि लाग्छ, तर गरिखानु पनि त पर्यो नि।"
यस्ता गतिविधि वर्षायामभर चलिरहने गर्दछ। स्थानीय प्रशासनले नदीमा अत्यधिक बहाव हुँदा सावधानी अपनाउन आग्रह गर्दै आएको छ। तर जीवन निर्वाहका लागि जोखिम मोल्न बाध्य स्थानीयवासीको यो दैनिक जीवनशैलीजस्तै बनेको छ।
राप्ती नदीमा दाउरा सङ्कलनका साथै बालबालिकाले पौडी खेल्ने, रमाइलो गर्ने क्रम पनि चल्ने गरेको छ। यस्ता दृश्यले एकातर्फ प्राकृतिक स्रोतको सदुपयोग झल्काउँछ भने अर्कोतर्फ सुरक्षा चुनौती पनि उजागर गर्छ।