तुर्कमेनिस्तान, साउन २२ —
प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानमा आयोजित जलवायु परिवर्तनसम्बन्धी साइड इभेन्टमा सम्बोधन गर्दै हिमनदी पग्लँदाको प्रत्यक्ष असर भोगिरहेका भूपरिवेष्टित विकासशील राष्ट्रहरूको पक्षमा आवाज उठाएका छन्।
आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण हिमनदीहरूको तीव्र गतिमा पग्लनु, त्यसबाट उत्पन्न हुने बाढी, पहिरो, जलस्रोतको अनिश्चितता तथा खाद्य सुरक्षा संकट जस्ता समस्याहरू विशेषगरी भूपरिवेष्टित राष्ट्रहरूका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गरे।
“हामी जस्ता हिमाली र भूपरिवेष्टित विकासशील देशहरू जलवायु परिवर्तनको न्यूनतम जिम्मेवार हौं, तर असर सबैभन्दा धेरै हामीले भोगिरहेका छौं,” प्रधानमन्त्री ओलीले भने।
उनले जलवायु न्याय सुनिश्चित गर्न, जलवायु वित्तमा सहज पहुँच दिलाउन र अन्तर्राष्ट्रिय समुदायबाट प्रभावकारी सहयोगको अपेक्षा राख्दै दीर्घकालीन समाधानका लागि साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिहरू, जलवायु विज्ञ, नीति निर्माताहरूको सहभागिता रहेको थियो। साइड इभेन्ट जलवायु सम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको एक हिस्सा हो, जसमा वातावरणीय संकट समाधानका विषयमा बहस गरिएको छ।
नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले प्रस्तुत गरेका धारणा अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक रुपमा ग्रहण गरिएको बताइएको छ।