काठमाडौं, साउन-भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा पर्ने धराली गाउँमा मंगलबार आएको भीषण बाढी र पहिरोमा परी नेपालका कम्तीमा १३ नागरिक बेपत्ता भएका छन्। बेपत्ता हुनेहरू जाजरकोटको कुशे गाउँपालिका–२ का बासिन्दा हुन्।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनापछि गाउँपालिकाका वडा नं. २ का १३ जना र अन्य वडाका केही व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको जानकारी दिएका छन्। उनले हराइरहेका नेपालीको खोज तथा उद्धारमा नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
५० घर र ३० होटल बगायो
लगातारको अविरल वर्षापछि आएको बाढीले धराली गाउँका दर्जनौँ संरचना पूर्ण रूपमा बगाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बाढीका कारण ५० भन्दा बढी घर, ३० भन्दा बढी होटल तथा रिसोर्ट, २५ होमस्टे र अन्य निर्माणाधीन संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढीले ४० सेकेन्डमै पूरै गाउँ तहसनहस बनाएको बताइएको छ।
पाँचको मृत्यु पुष्टि, सयौँ बेपत्ता
हालसम्म घटनास्थलबाट ५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अझै पनि सयभन्दा बढी व्यक्ति बेपत्ता छन्। बेपत्तामध्ये स्थानीय बासिन्दासँगै नेपाल र भारतका मजदुर तथा पर्यटकसमेत रहेका छन्। घटनामा भारतीय सेनाका ९ जवान पनि बगेको बताइएको छ।
उद्धारमा कठिनाइ
उद्धार कार्यमा स्थानीय प्रशासन, सेना तथा विपद् व्यवस्थापन टोली खटिएका छन्। तर माटो, लेदो र क्षतिग्रस्त संरचनाको कारण खोज तथा उद्धारमा कठिनाइ भएको जनाइएको छ।
धराली गाउँमा पुग्ने सडक पूर्ण रूपमा अवरुद्ध भएकाले राहत तथा उद्धार कार्य प्रभावित भएको छ। साथै, बाढीपछि उक्त क्षेत्रमा खानेपानी र विद्युत् सेवा समेत बन्द भएको छ।
नेपाल सरकारले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै भारतीय पक्षसँग समन्वय गरिरहेको जनाइएको छ। परराष्ट्र मन्त्रालयमार्फत थप जानकारी संकलन भइरहेको छ भने आवश्यक उद्धारका लागि पहल भइरहेको सरकारी स्रोतले जनाएको छ।