बाँके, २३ साउन २०८२-नेपालगन्जस्थित भेरी अस्पतालले एमडी/एमएस कोर्स अध्यापन सुरु गरेको छ। लामो समयदेखिको तयारीपछि अस्पतालले २०८२ असार महिनाबाट मेडिसिन र सर्जरी विभागमा औपचारिक रूपमा स्नातकोत्तर तहको चिकित्साशिक्षा आरम्भ गरेको हो।
अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीचको सम्झौतापछि न्याम्सको सिनेट बैठकले भेरी अस्पताललाई एमडी/एमएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको थियो। सम्झौतामा प्रतिष्ठानका उपकुलपति प्रा. डा. भूपेन्द्र बस्नेत र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले हस्ताक्षर गरेका थिए।
यस शैक्षिक वर्षदेखि भेरी अस्पतालसँगै कोसी, भरतपुर र नारायणी अस्पतालले पनि एमडी/एमएस अध्यापन गर्ने अनुमति पाएका छन्। भेरी अस्पतालले पहिलो चरणमा ५४ पदका लागि प्रस्ताव गरे पनि मापदण्ड अनुसार ११ जना चिकित्सक सहप्राध्यापक र उपप्राध्यापकमा पदोन्नत भएका छन्।
अहिले अस्पतालमा मेडिसिन र सर्जरी विभागमा आवासीय चिकित्सक (रेजिडेन्ट) अध्ययनमा संलग्न छन्। गाइनो (स्त्री तथा प्रसूति) विभागमा एक जना र अर्थोपेडिक (हाडजोर्नी) विभागमा दुई जना आवासीय चिकित्सक अध्ययनका लागि आउने प्रक्रियामा छन्। तीन वर्षे यो कार्यक्रममा सहभागी चिकित्सक २४ सैँ घण्टा अस्पताल क्षेत्रमा रहनेछन्।
सर्जरी विभागमा डा. नीराजन सुवेदी र डा. दीपेश गुप्ता, मेडिसिनमा डा. राजन पाण्डे, डा. विकास नेपाल र डा. संकेत रिसालले अध्यापन गराइरहेका छन्। गाइनो विभागमा डा. कृतिपाल सुवेदी र अर्थोपेडिक विभागमा डा. प्रकाशबहादुर थापा तथा डा. तिर्थेन्द्र खड्काले अध्यापनको तयारी गरिरहेका छन्।
डा. सुवेदीका अनुसार, आवासीय चिकित्सकका कारण अस्पतालमा डाक्टरको अभाव नहुने, ओपीडी, आकस्मिक, आइसियु लगायत सबै सेवा क्षेत्रमा विशेषज्ञ निगरानीमा उपचार हुने र सेवा छिटोछरितो हुनेछन्। साथै, जनशक्ति अभावको समस्या नहुनुका साथै आर्थिक भार पनि कम पर्ने उनले बताए।
अस्पताल विकास समितिले आवासीय चिकित्सकलाई रात्रिकालीन भत्ता र आवासको व्यवस्था गर्नेछ भने अन्य सेवा सुविधा चिकित्सा शिक्षा आयोगमार्फत प्रदान गरिनेछ। आयोगले आठौँ तहका सरकारी चिकित्सक बराबरको तलब दिने व्यवस्था गरेको छ। आवासीय चिकित्सक पूर्ण छात्रवृत्तिमा अध्ययनरत हुने भएकाले उनीहरूका लागि अतिरिक्त शुल्क लाग्ने छैन।
यसैबीच, भेरी अस्पतालले बिरामीहरूको सहजताका लागि अनलाइन टिकट सेवा पनि सुरु गरेको छ। सेवा विस्तारसँगै भेरी अस्पताल पश्चिम नेपालकै एक प्रमुख शैक्षिक तथा स्वास्थ्य सेवा केन्द्रका रूपमा अगाडि बढेको छ।