बाजुरा, साउन २४ — सुन्दर हिमाली दृश्य, हरियालीले भरिएका पाटन र धार्मिक आस्थाले भरिएको स्थल — त्रिवेणी पाटन पछिल्ला दिनमा तिर्थालु मात्र होइन, पर्यटकको पनि आकर्षणको केन्द्र बन्दै गएको छ। बडिमालिका यात्रा गर्ने भक्तालुहरूको लागि प्रमुख विश्रामस्थलका रूपमा चिनिने त्रिवेणी पाटनलाई ‘भूस्वर्ग’ को संज्ञा दिनेहरू पनि बढेका छन्।
बाजुरा, अछाम र कालिकोट तीन जिल्लाको संगमस्थल नजिक रहेको त्रिवेणी पाटन प्रकृति र आध्यात्मको अनुपम मेल हो। यहाँका दर्जनौं पाटनहरू हरियालीले ढाकिएको मैदानजस्तै देखिन्छन्, जुन बडिमालिकातर्फको यात्रा गरिरहेका भक्तालुहरूलाई थकान बिसाउने सुन्दर स्थानका रूपमा उपयोग हुने गरेका छन्। (7).jpg)
त्रिवेणी खोलाको संगमस्थल — तीनवटा छुट्टाछुट्टै मुहानबाट निस्किएका धाराहरू पाटनमै आएर एकै ठाउँमा मिसिने भएकाले यस स्थानलाई त्रिवेणी भनिएको हो। यही संगमस्थलमा स्नान गर्दा पाप पखालिने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। यही कारणले बडिमालिका जाने भक्तालुहरू जाने–आउँदा त्रिवेणीमा स्नान अनिवार्यजस्तै मान्छन्।
स्थानीय पर्यटन व्यवसायीका अनुसार त्रिवेणी पाटन अहिले बडिमालिकाको मेला र पूजा बाहेक अन्य समयमा पनि घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्या बढ्दो छ। "यहाँको शान्त वातावरण, हिमाली दृश्य र धार्मिक महत्त्वले पर्यटकहरू लोभिएका छन्," स्थानीय शिक्षक टंक बमले बताए।
प्रदेश सरकार तथा स्थानीय तहले यो क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्न योजना बनाउँदै आएका छन्। आधारभूत पूर्वाधार विस्तार, पाटन संरक्षण र होमस्टे व्यवसाय विस्तारका पहलहरू थालिएको जनाइएको छ।
यदि समुचित व्यवस्थापन गरिएमा त्रिवेणी पाटन निकट भविष्यमा सुदूरपश्चिमकै प्रमुख धार्मिक तथा प्रकृति पर्यटन गन्तव्यका रूपमा स्थापित हुनसक्ने विज्ञहरू बताउँछन्। (6)(1).jpg)