काठमाडौं, साउन — देशमा सक्रिय मनसुन प्रणालीका कारण कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसको प्रभावस्वरूप आज दिउँसो देशभर सामान्यतया बदली रही, कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भाग तथा मधेससहित अन्य केही पहाडी र तराई क्षेत्रहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
"कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ, त्यसैले ती क्षेत्रमा साना नदी खोलामा आकस्मिक बाढीको सम्भावना रहन सक्छ," महाशाखाले विज्ञप्तिमार्फत सतर्क रहन आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी तथा मधेस प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्हरूले लगातारको वर्षाले पहाडी क्षेत्रमा भू–स्खलन तथा तराई क्षेत्रमा जलमग्न हुने जोखिम बढाउन सक्ने भएकाले यात्रु, कृषक र स्थानीय प्रशासनलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।
सम्बन्धित विषयहरू: