हेटौंडा, बागमती – २५ साउन २०८२
बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन भएको केही दिनमै नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद तीव्र बन्दै गएको छ। हालै नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकार एक साता पनि टिक्न नसक्ने अवस्था देखिएको छ। बानियाँको विश्वासको मतको तयारी भइरहेका बेला आफ्नै पार्टीभित्रका १४ जना सांसदले मत नदिने चेतावनी दिएका छन्।
प्रदेशसभामा बहुमत नपुग्ने अवस्था आएमा बानियाँ सरकार धराशायी हुने सम्भावना बलियो बनेको छ। संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार बानियाँले पर्सि मंगलबार (२७ साउन) प्रदेशसभा बैठकमार्फत विश्वासको मत लिन लागेका हुन्।
शनिबार ललितपुरको भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा बसेको कांग्रेस संसदीय दलको बैठकले बानियाँका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। प्रमुख सचेतक एका लाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमार्फत सबै सांसदलाई मंगलबार दिउँसो ४ बजेको बैठकमा अनिवार्य रूपमा उपस्थित भई बानियाँको पक्षमा मत दिन निर्देशन दिइएको छ।
तर पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूह भने असन्तुष्ट देखिएको छ। लामाको नेतृत्वमा रहेका १४ जना सांसदले पार्टीको ह्विप नमानी बानियाँको विश्वासको मत प्रक्रियामा सहभागी नहुने वा विपक्षमा मत हाल्ने चेतावनी दिएका छन्।
लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुअघि आफ्ना नजिकका ३ सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए, तर ती मन्त्रीहरूको शपथ विवादका कारण हुन सकेन। पछि सभापति शेरबहादुर देउवाको निवासमा बानियाँले ती सांसदलाई पुनः मन्त्री बनाउने सहमति दिएपछि मात्र लामाले राजीनामा दिएका थिए।
तर उक्त सहमति कार्यान्वयन नगरेको भन्दै लामा पक्ष असन्तुष्ट भएको हो। "मुख्यमन्त्री बानियाँले आफूपक्षका सांसदलाई मात्र अवसर दिएका छन्, हाम्रो समूहसँग संवादसमेत नगरी उपेक्षा गरिएको छ," निवर्तमान मुख्यमन्त्री लामाले प्रतिक्रिया दिएका छन्।
अब बानियाँले विश्वासको मत पाउने वा नपाउने भन्ने टुंगो मंगलबारको मतदानबाट लाग्नेछ। तर पार्टीभित्रकै संकट समाधान नभएसम्म बागमती प्रदेशको सत्ता समीकरण अझ जटिल हुने देखिन्छ।