काठमाडौं, साउन २५ — प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको उच्चस्तरीय बैठकमा मन्त्री हेरफेरका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल भएको छ। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारको काम प्रभावकारी नभएको भन्दै केही मन्त्रीहरूको कार्यसम्पादन असन्तोषजनक रहेको कारण देखाउँदै मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव राखेका थिए।
ओलीले बैठकमा भनेका थिए, “सरकार गठन भएको एक वर्ष पुगिसक्यो। नयाँ मन्त्री बनाउँ, पुरानालाई बिदा गरौं।”
तर, कांग्रेस सभापति देउवाले भने उक्त प्रस्तावप्रति असहजता व्यक्त गरेका थिए। देउवाले पार्टीभित्र शक्ति सन्तुलन कायम गर्न मुस्किलले सहमति जुटाएको बताउँदै मन्त्री हेरफेर गर्दा फेरि विवाद चर्किन सक्ने तर्क गरेका थिए।
उनले भने, “मैले पार्टीमा बल्ल बल्ल मिलाएको थिएँ। अहिले फेरबदल गर्दा फेरि विवाद निम्तिन्छ। तपाईंले बदल्नुस्, हाम्रालाई छोडिदिनुस्।”
बैठकमा कांग्रेस र एमालेबीच सरकार सञ्चालनका अन्य पक्षमा पनि छलफल भए पनि मन्त्री हेरफेरको मुद्दा प्रमुख विषय बनेको स्रोतको दाबी छ। प्रधानमन्त्री ओलीले कार्यसम्पादन सुधारका लागि दुई दलबीचको सहमतिमा मन्त्री हेरफेर गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
सरकारको एक वर्षे अवधि पूरा भइसकेको अवस्थामा भावी रणनीति र मन्त्रीमण्डल सन्तुलन कायम राख्न यी छलफलहरूलाई महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।