काठमाडौं ।नेकपा (माओवादी केन्द्र) भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच बढ्दो अन्तरसंघर्षका बीच वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी एकता अभियानमा आक्रामक कूटनीति थालेका छन्। पछिल्ला दिनहरूमा समाजवादी मोर्चासँग आबद्ध तथा बाहिर रहेका नेताहरूसँग तीव्र भेटघाट गर्दै श्रेष्ठ वाम एकतालाई मूर्त रूप दिन सक्रिय देखिएका छन्।
हालै माओवादी केन्द्रको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्न कार्यदल बनाउने निर्णय गरिसकेको छ। प्रवक्ता अग्नि सापकोटाका अनुसार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि एकताको प्रारम्भिक छलफल चलिरहेको छ। यता, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग भने पहिले नै एकताको निर्णय भइसकेको हो।
श्रेष्ठले सोमबार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग ललितपुरको हात्तीवनस्थित आफ्नै निवासमा भेट गरेका छन्। भेटमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल भएको हो।
तर उपेन्द्रले भने भेटलाई ‘राजनीतिक हैन, छिमेकी भेट’ को संज्ञा दिएका छन्। ‘आज कुनै राजनीतिक विषयमा कुराकानी भएन,’ उनले भने, ‘हामी छिमेकी हौं, त्यसैले भेट भएको हो।’
यसअघि श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसँग डल्लुस्थित निवासमा भेटेका थिए। अध्यक्ष माधव नेपाल एकताको पक्षमा देखिए पनि खनाल भने नकारात्मक रहेको बुझिएको छ। श्रेष्ठले नेकपा एसका महासचिव घनश्याम भुसालसँग पनि शुक्रवार भेट गरेका थिए। यस्तै, बुधवार विप्लवसँग पनि हात्तीवनमा एक घण्टा लामो भेटवार्ता भएको थियो।
यद्यपि, नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले श्रेष्ठको सक्रियतालाई ‘व्यक्तिगत’ भनेका छन्। ‘उहाँलाई पार्टीले खटाएको होइन,’ पोखरेलले भने, ‘व्यक्तिगत रूपमा भेट गर्नुभएको होला, पार्टीलाई जानकारी छैन।’
विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन पार्टीले कार्यदल बनाउने निर्णय गरिसकेको पोखरेलले जानकारी दिए। ‘एकताका लागि औपचारिक कार्यदलले मात्र निर्णय गर्छ, व्यक्तिगत भेट एकताको आधार हुन सक्दैन,’ उनले प्रष्ट पारे।
नेकपा एससँग एकता सम्बन्धी औपचारिक छलफल नभएको स्पष्ट पार्दै पोखरेलले भने, ‘मोर्चामा सँगै भएकाले सामान्य संवाद भइरहन्छ, तर औपचारिक एकता छलफलको चरणमा पुगेका छैनौं।’
श्रेष्ठको वामपन्थी एकता अभियान नयाँ होइन। केही समयअघि उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटेका थिए। सो भेटमा उनले वाम एकताको प्रस्ताव राखेको चर्चा राजनीतिक वृत्तमा निकै चर्चित बन्यो।
यसैबीच, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले माओवादीसँगको एकता प्रस्तावबारे सावधानीपूर्वक अघि बढ्ने संकेत दिएका छन्। ‘हामी समग्र परिस्थिति विश्लेषण गरेर मात्रै निष्कर्षमा पुग्छौं,’ उनले भने, ‘गम्भीर बहसपछि मात्र निर्णय हुन्छ।’