एजेन्सी । आणविक हतियार सम्पन्न उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिका बीचको आसन्न संयुक्त सैन्य अभ्यासप्रति कडा असन्तुष्टि जनाउँदै ‘दृढ जवाफी कारबाही’ को चेतावनी दिएको छ।
उत्तर कोरियाका रक्षा मन्त्री नो क्वाङ चोलले सोमबार सरकारी समाचार संस्था केसीएनए मार्फत एक विज्ञप्ति जारी गर्दै यदि सैन्य अभ्यासका क्रममा कुनै पनि किसिमको उत्तेजना भएमा उत्तर कोरियाले आत्मरक्षाको अधिकार प्रयोग गर्दै कडा जवाफ दिने बताएका छन्।
सियोल र वासिङ्टनले आगामी उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास १८ देखि २१ अगस्टसम्म सञ्चालन गर्न तयारी गरिरहेका छन्। संयुक्त अभ्यासलाई उत्तर कोरियाबाट हुने सम्भावित आक्रमणको सामना गर्न पूर्वतयारीको रूपमा लिइन्छ। तर प्योङयाङले यी अभ्यासहरूलाई सदैव आक्रमणको पूर्वाभ्यासको रूपमा व्याख्या गर्दै विरोध जनाउँदै आएको छ।
नो क्वाङ चोलले भनेका छन्, “उत्तर कोरियाका सशस्त्र बलहरूले अमेरिका र दक्षिण कोरियाको युद्ध अभ्यासको सामना आत्मरक्षाको अधिकारको स्तरमा पूर्णरूपमा र दृढ जवाफी कारबाहीको मुद्रामा गर्नेछन्।”
हाल दक्षिण कोरियामा अमेरिका तर्फबाट करिब २८ हजार ५ सय सैनिक तैनाथ छन्, र यी साझेदार राष्ट्रहरूले नियमित रूपमा संयुक्त सैन्य अभ्यासहरू सञ्चालन गर्छन्, जसलाई उनीहरूले रक्षात्मक अभ्यास बताउने गर्छन्।
यता, दुई कोरियाबीचको सम्बन्धमा केही सुधारको संकेत देखिएको छ। सियोल र प्योङयाङले हालै सीमामा रहेका प्रोपागान्डा लाउडस्पिकरहरू हटाउने कार्य थालेका छन्। राष्ट्रपति ली जे म्युङको निर्वाचनपछि सियोलले प्योङयाङप्रति सौम्य दृष्टिकोण अपनाउँदै आएका छन्।
जुन महिनामा सियोलले असैन्यीकृत क्षेत्रमा प्रचार कार्य रोकेको जनाएको थियो भने नागरिक समूहहरूलाई बेलुनद्वारा सीमापार पर्चा वितरण नगर्न आग्रहसमेत गरिएको छ। यसले दुई कोरियाबीच सम्बन्ध सुधारतर्फको संकेत दिएको छ।
पूर्व राष्ट्रपति युन सुक योलको कार्यकालमा दुई कोरियाबीचको सम्बन्ध चिसिएको थियो। यता, उत्तर कोरिया भने युक्रेनमा रुसको आक्रमणपछि मस्कोसँग अझ नजिकिएको देखिन्छ।