काठमाडौं, साउन । नेपालमा सक्रिय रहेको मनसुन प्रणालीका कारण आज मङ्गलबार देशभर मौसम बदली रहने र तीन प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकोले देशभर बदली र वर्षाको क्रम जारी रहने जनाइएको छ। बिहानै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
दिउँसो देशभर आकाश ढाकिएको रहनेछ भने पहाडी भूभागका धेरै स्थान र तराईका केही क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना प्रबल रहेको छ।
रातिको समयमा पनि देशभर बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा, र मधेश, कोशी तथा बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहँदा पहिरो, बाढी तथा जलस्रोतजन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक सञ्जाल तथा हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।