काठमाडौं, साउन । भारतको उत्तराखण्ड राज्यमा अघिल्लो हप्ताको बाढीले ठूलो जनधनको क्षति पुर्याउँदा कम्तीमा २६ नेपाली नागरिक बेपत्ता भएका छन्। दिल्लीस्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै बेपत्ता नेपालीहरूको विवरण सार्वजनिक गरेको हो।
दूतावासका अनुसार उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा २१ जना र पौडीगढवालको बंकुरा क्षेत्रमा ५ जना गरी कुल २६ जना नेपाली नागरिक सम्पर्कविहीन भएका हुन्।
धराली क्षेत्रमा बेपत्ता भएकाहरू
धराली क्षेत्रमा हराएका नेपालीहरूमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर रहेका छन्।
पौडीगढवालमा बेपत्ता भएकाहरू
यसैगरी, पौडीगढवालको बंकुरा क्षेत्रमा बेपत्ता भएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन्।
दूतावासका अनुसार उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार भारी वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।
उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरू होटेल तथा स्याउ फार्ममा काम गर्न गएका थिए। बाढीपछि विद्युत र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा बेपत्ताको खोजीमा कठिनाइ भएको थियो। हाल फोन र विद्युत सेवा आंशिक रूपमा सुचारु भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको दूतावासले जनाएको छ।
नेपाल सरकार र भारतीय प्रशासनबीच निरन्तर समन्वय भइरहेको जनाइएको छ। दूतावासले प्रभावित परिवारहरूसँग सम्पर्क राख्दै खोजी कार्यमा आवश्यक सहयोगका लागि आग्रह गरेको छ।
यस घटनाले भारतमा रोजगारीका लागि गएका नेपालीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। दूतावासले आप्रवासी नेपालीलाई सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरेको छ।
