कैलाली, साउन । आठ दिनको उपचारपछि तन्दुरुस्त बनेको एक सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा सफलतापूर्वक प्रकृतिमा फर्काइएको छ।
कैलालीको लम्की चुहा नगरपालिका अन्तर्गत लालीगुराँस सामुदायिक वनबाट बिरामी अवस्थामा उद्धार गरिएको गिद्धलाई स्वस्थ भएपछि निकुञ्जको सुरक्षित क्षेत्रमा छाडिएको हो। सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीका अनुसार, गिद्ध उद्धारको समयमा टाउको झुकेको र हिँडडुल गर्न नसक्ने स्थितिमा थियो।
"बाँच्ला जस्तो लागेको थिएन"
भण्डारीले भने, "गिद्धको अवस्था हेर्दा बाँच्ला जस्तो लागेकै थिएन, तर उपचार, स्याहार र आहारमा विशेष ध्यान दिँदा आश्चर्यजनक रूपमा तन्दुरुस्त भयो।" गाडीमार्फत निकुञ्ज पुर्याइएका गिद्धलाई पिँजडाबाट छाडेपछि खुला आकासमा उड्न थालेको देख्दा टोली अत्यन्त उत्साहित भएको उनले बताए।
गिद्धको पखेटा फिँजाउँदै आकाशमा उडेको र त्यसपछि अस्नाको रुखमा बसिरहेको दृश्य पनि क्यामेरामा कैद गरिएको छ।
नेपाल–भारत हुँदै लामो यात्रा
नेपाल पन्छी संरक्षण संघ (BCN) का चरा विज्ञ हिरुलाल डगौराका अनुसार, उक्त गिद्ध पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट उडेर भारतको विभिन्न क्षेत्र हुँदै कैलाली आइपुगेको थियो। असार २७ गते जटायु रेष्टुराँबाट उडेको गिद्ध शुरूका केही दिन कपिलवस्तुको गैडहवा क्षेत्रमै विचरण गरेको थियो।
त्यसपछि भारतको बहराइच, लखिमपुर, टिकुलिया, सीमावर्ती क्षेत्र भजनी हुँदै मसुरियासम्म पुगेको गिद्ध फर्किने क्रममा थकित र बिरामी अवस्थामा लालीगुराँस वनमा भेटिएको हो।
बिरामीको कारण र उपचार
अर्ध वयस्क गिद्ध लामो दूरीको यात्रा गर्दा पर्याप्त आहार र पानी नपाउँदा रगतको कमी भएर बिरामी परेको अनुमान गरिएको छ। गिद्धमा बाह्य चोटपटक भने देखिएको थिएन।
उद्धारपछि गिद्धलाई बर्दियास्थित प्रकृति संरक्षण कोष (NTNC) का भेटेरिनरी चिकित्सक विकल्प कार्कीको टोलीले आठ दिनसम्म उपचार गरेको थियो।
‘जे-१६’ को ट्र्याकिङबाट विवरण पुष्टि
गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट ट्याग ‘जे–१६’ ले गिद्धको यात्रा मार्ग ट्र्याक गर्न मद्दत गरेको छ। उक्त ट्यागको सहयोगमा GPS ट्र्याकिङ गर्दै गिद्धको गतिविधिबारे अध्ययन जारी राखिएको डगौराले बताए।
दुर्लभ प्रजाति, संवेदनशील सूचीमा
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले सानो खैरो गिद्धलाई ‘अतिसंवेदनशील’ (Critically Endangered) प्रजातिको सूचीमा राखेको छ।
नेपाल पक्षी संरक्षण संघ, सबडिभिजन वन कार्यालय लम्की र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त पहलमा गिद्धलाई पुनः प्राकृतिक बासस्थानमा फर्काइएको हो।
"पुरानै बासस्थान फर्कनेमा विश्वस्त छौँ"
"गिद्ध उपचारपछि पूर्ण रूपमा स्वस्थ छ," डगौराले भने, "हामी उसले पुरानै बासस्थानमा फर्केर प्राकृतिक चक्रमा समाहित हुनेमा विश्वस्त छौँ।"
गिद्ध संरक्षणका दृष्टिले यो सफल उद्धार र पुनःस्थापना अभियानलाई वातावरणविद् र संरक्षणकर्मीहरूले सकारात्मक संकेतका रूपमा लिएका छन्।