काठमाडौं, २७ साउन।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूप्रति शुभकामना व्यक्त गर्दै, उनीहरूलाई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको यात्रामा अग्रसर हुन आह्वान गरेका छन्।
अध्यक्ष दाहालले जारी गरेको सन्देशमा युवालाई दिगो विकासका लक्ष्य प्राप्तिमा निर्णायक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै, हाल विश्वले सामना गरिरहेको गरिबी, असमानता र जलवायु परिवर्तनजस्ता चुनौती समाधानका लागि युवाको पहलकदमी अपरिहार्य रहेको उल्लेख गरेका छन्।
"मैले आफ्नै युवावस्थामा युवा संघको अध्यक्ष हुँदै पार्टीको नेतृत्व गर्ने अवसर पाएँ," अध्यक्ष दाहालले भनेका छन्, "हजारौँ युवाको बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवाद अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भयो।"
उनले माओवादी केन्द्र नै नेपालको एक मात्र यस्तो पार्टी भएको दाबी गरे जसले पार्टीका सबै तहमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। युवालाई केवल भविष्यको नेतृत्वका रूपमा नभई वर्तमानको परिवर्तनशील शक्ति मानेर अगाडि बढाइएको उनले स्पष्ट पारे।
माओवादी नेतृत्वको सरकारले युवा स्वरोजगार, उद्यमशीलता र नवप्रवर्तनका क्षेत्रमा गरेका पहलहरूको स्मरण गर्दै उनले भने, “युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद्, स्टार्टअप अभियान तथा रिटर्नी उद्यमी कार्यक्रमले हजारौँ युवाको जीवनमा ठोस परिवर्तन ल्याएको छ।”
तर, उनले पछिल्ला सरकारले यी कार्यक्रमहरूलाई निरन्तरता नदिएकोमा गहिरो चिन्ता व्यक्त गरे।
अध्यक्ष दाहालले युवा वर्गलाई राष्ट्र निर्माणको मूल शक्ति मान्दै भने, “उनीहरूको ऊर्जाशीलता, सिर्जनशीलता र वैज्ञानिक सोचले समृद्ध र समाजवादी नेपाल निर्माणको आधार तयार गर्छ।”
अन्त्यमा उनले सबै युवालाई आह्वान गर्दै भने, “आफ्नो सीप, ऊर्जा र विचार जनताका पक्षमा लगाऔँ, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि जुटौँ। परिवर्तनको यात्रालाई अझ सबल बनाऔँ।”
