काठमाडौं,साउन — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषयहरूमा छलफल गर्दा सम्बन्धित पार्टी फोरमको मर्यादा कायम गर्न निर्देशन दिएका छन्।
बुधवार सम्पन्न वाग्मती प्रदेश कमिटी सचिवालयको आठौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान अवस्थामा पार्टीको विधान संशोधनमाथि केन्द्रित छलफल आवश्यक रहेको बताए। उनले पार्टीका तीन तहमा पठाइएको विधान संशोधनको मस्यौदामाथि गम्भीर छलफल गरी आवश्यक सुझाव पेश गर्न आग्रह गरे।
आन्तरिक छलफलको मर्यादा कायम गर्न निर्देशन
पोखरेलले पार्टी कमिटीभन्दा बाहिर रहेका जिम्मेवार कार्यकर्ता तथा सदस्यहरूले पनि छलफलमा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिए। सोका लागि प्रदेश र जिल्ला कमिटीहरूलाई पहल गर्न निर्देशन दिँदै उनले भने, “पार्टीका आन्तरिक विषयहरू बाह्य रूपमा होइन, आ-आफ्ना पार्टी फोरमहरूमा नै उठ्नुपर्छ।”
राष्ट्रपति र सभामुखको भूमिका फरक
सभामुख र राष्ट्रपतिको संवैधानिक भूमिका फरक हुने स्पष्ट पार्दै पोखरेलले सभामुख भएका व्यक्तिले सक्रिय राजनीतिमा फर्कन पाउने तर राष्ट्रपतिको हकमा भने नयाँ सदस्यता लिएर मात्रै प्रवेश गर्नुपर्ने बताए। “राष्ट्रपतिले सङ्गठित सदस्यता परित्याग गरेका हुन्छन्, त्यसैले राजनीति फर्किन उपयुक्त तरिकाले नयाँ सदस्यता लिनुपर्छ,” पोखरेलले स्पष्ट पारे।
७० वर्ष उमेर हदबन्दी स्थगन गरिएको जानकारी
महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकले ७० वर्षको उमेर हदबन्दीलाई हाललाई स्थगन गर्ने निर्णय लिएको जानकारी पनि दिए। उक्त निर्णय मुकुन्द न्यौपानेको पार्टी प्रवेशपछि केन्द्रीय कमिटी सदस्य बनाउने सन्दर्भमा गरिएको थियो।
उनले एमालेको दशौँ महाधिवेशनले दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान हटाइसकेको कुरा पनि स्मरण गराए।