काठमाडौं, साउन २८ – नेपाल प्रहरीको नेतृत्व अब अनुभव, पारदर्शिता र निष्कलंक छवाले चिनिएका वरिष्ठ प्रहरी अधिकृत चन्द्रकुवेर खापुङले सम्हाल्न गइरहेका छन्। उनी आगामी १८ भदौ २०८२ मा प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी औपचारिक रूपमा लिने तयारीमा छन्।
तीन दशकभन्दा लामो प्रहरी सेवाको अनुभव बोकेका खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का निर्देशकको रूपमा कार्यरत छन्। अपराध अनुसन्धानदेखि प्रदेशस्तरीय कमाण्डसम्मका चुनौतीपूर्ण जिम्मेवारीहरू सफलता र निष्पक्षताको साथ पूरा गरेका खापुङ प्रहरी संगठनभित्र निष्कलंक छवि र दृढ नेतृत्व क्षमता भएका अधिकृतका रूपमा चिनिन्छन्।
छोटो तर प्रभावशाली कार्यकालको अपेक्षा
हालको नियमावलीअनुसार खापुङको कार्यकाल २६ कात्तिक २०८२ मा अवकाश हुने भएकाले झन्डै दुई महिनाको छोटो अवधिका लागि मात्र आईजीपी बन्नेछन्। यद्यपि, प्रहरी संगठन र गृह मन्त्रालयमा उनीप्रति देखिएको विश्वासले छोटो कार्यकाल भए पनि संगठनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
संगठनभित्र र बाहिर उनीबारे बोलिँदै आएको छ – “न त विवाद, न त राजनीतिसँग निकटता – खापुङले सधैं कर्मको बलमा नाम कमाए” भन्ने। अधीनस्थ कर्मचारीदेखि सहकर्मीहरूसम्म उनी एक इमानदार, प्रेरणादायी र अनुशासित अधिकृतको रूपमा सम्मानित छन्।
प्रहरीमा सुधार र विश्वास निर्माणको आशा
खापुङको नेतृत्वले प्रहरी संगठनमा पारदर्शिता, अनुशासन, र जनताको विश्वासलाई बलियो बनाउने आशा गरिएको छ। गृह मन्त्रालय स्रोतका अनुसार, "खापुङको आगमनले छोटो समयमै संगठनभित्र संरचनागत अनुशासन र नेतृत्वमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।"
सामान्यतया, छोटो कार्यकाल भएका आईजीपीहरू संगठनलाई दीर्घकालीन दिशानिर्देशन दिन सक्दैनन् भन्ने भनाइ रहँदै आएको छ। तर खापुङको हकमा, त्यो धारणा उल्टिने विश्वास गरिएको छ।