काठमाडौं — मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा इलाममा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार साँझसम्म इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको हो।
त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर, अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर र कास्कीमा १२४ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको गोब्रेमा पनि १०८ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। यी सबै क्षेत्रहरूमा अत्यधिक भारी वर्षा भएको हो।
अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मिलिमिटर वर्षा भएको छ भने ५० भन्दा बढी केन्द्रमा ५०–६० मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
यसबाहेक दार्चुला, डोटी, जुम्ला, बाजुरा, जाजरकोट, रुकुम, पर्वत, सुर्खेत, गुल्मी, रुपन्देही, नुवाकोट, मकवानपुर, दोलखा, बारा, काठमाडौँ, ओखलढुंगा, सङ्खुवासभा, धनकुटा, धनुषा, उदयपुर, झापा लगायतका जिल्लामा पनि वर्षा भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मङ्गलबारदेखि पुनः सक्रिय भएको मनसुनका कारण बुधबार देशभर बदली भई धेरै स्थानमा वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टामा पूर्वी भू–भागभन्दा पश्चिम नेपालमा मनसुन बढी सक्रिय रहने छ।
हाल देशभर पूर्णतया बदली छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ।