सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइ तीव्र गतिमा बढेपछि गाउँ रित्तिँदै गएका छन् भने तराईमा जनसङ्ख्याको चाप बढ्दै कृषियोग्य जमिन खतरामा परेको छ। नौ जिल्लामध्ये कञ्चनपुरमा मात्रै प्रदेशको २० प्रतिशत जनसङ्ख्या बसोबास गर्छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिमको जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ मध्ये ५२.७७ प्रतिशत महिला र ४७.२३ प्रतिशत पुरुष छन्। रोजगारीका लागि भारत र तेस्रो मुलुक जाने प्रवृत्तिका कारण पुरुषको संख्या कम देखिएको हो। अछाम, बैतडी, डोटी, बझाङ, डडेल्धुरा लगायत पाँच जिल्लाको जनसङ्ख्या घट्दो छ भने दार्चुलामा वृद्धि दर शून्य छ।
तथ्याङ्क अनुसार कैलालीमा जनसङ्ख्या वृद्धिदर १.४८ प्रतिशत र कञ्चनपुरमा १.२५ प्रतिशत छ। पहाड र हिमालबाट तराई–मधेसतर्फ बसाइँसराइ बढ्नुका साथै सहरी क्षेत्रमा बस्ने प्रवृत्ति उच्च भएको तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेले बताए।
विशेषज्ञका अनुसार तराईमा बढ्दो जनसङ्ख्याले अन्न उत्पादन क्षेत्र घटाउँदै लगेको छ भने पहाडमा खेतीयोग्य जमिन बाँझो बसिरहेको छ। यसले निकट भविष्यमा कृषि उत्पादन घटाउँदै आयात निर्भरता बढाउने चेतावनी दिएका छन्। सुदूरपश्चिमको जिडिपीमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत भएकाले यसले अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने अनुमान छ।
भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीका अनुसार, यहाँको भौगोलिक सुविधा र पूर्वाधारले जनसङ्ख्या आकर्षण गरेको हो, तर बढ्दो चापले स्रोत व्यवस्थापनमा दबाब बढाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक शङ्करदत्त भट्टले पहाडमा तरकारी, फलफूल र पशुपालनको सम्भावना उपयोग गर्दै सामूहिक खेती, कृषि पूर्वाधार, चिस्यान केन्द्र र बजार व्यवस्थापनमा सरकारी–निजी साझेदारीमा लगानी गर्नुपर्ने सुझाव दिएका छन्।
प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्दले एकीकृत बस्ती विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पर्यटन विकास र उत्पादनमा अनुदानमार्फत रोजगारी सिर्जना गरेर बसाइँसराइ नियन्त्रण गर्नुपर्ने बता