सुर्खेत — आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ। प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी पठाउन थालिएको हो।
सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा र बेसार सुर्खेतको छिन्चुस्थित ‘द अग्र्यानिक भ्याली’ले संकलन गरी जर्मनीलगायत मुलुकमा निर्यात गर्दै आएको छ। कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलो जस्ता अन्य अग्र्यानिक उत्पादन पनि प्रमाणीकरणसहित विदेश पठाइरहेको छ।
मन्त्रालयका अनुसार प्रदेश स्थापना यताबाट हालसम्म कृषि क्षेत्रमा १८ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ, जसमा १४ अर्ब रुपैयाँ बराबरको रकम लगानी भइसकेको छ। चालु आर्थिक वर्षमा मात्र साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकमा ७४७ योजना निर्माण भएका छन्।
गत वर्ष ४,०४४ स्याउका बिरुवा १९ हेक्टरमा, २,८२४ ओखरका बिरुवा २५ हेक्टरमा, २०,१०० सुन्तला, १५,४०० कागती, २,००० ओखर र १,००० स्याउका बिरुवा रोपिएका छन्। खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत १०,००० स्याउ, १,९५० ओखर, ३,२७० सुन्तला र २,००० लिचीका बिरुवा पनि रोपिएका छन्।
खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका २१ क्विन्टल धानसहित विभिन्न बीउ उत्पादन र प्रमाणीकरण गरिएको मन्त्रालयले जनाएको छ। गत वर्ष मात्र २१.२९ मेट्रिक टन सागसब्जीका बीउ प्रमाणीकरण भएका थिए।