काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई नयाँ तथा युगान्तकारी (गेम चेन्जर) योजना बनाउन निर्देशन दिएका छन्। सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा उनले उत्पादकत्व वृद्धि र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्ने तीव्र गतिका काममा जोड दिए।
प्रधानमन्त्रीले दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन आगामी मंसिरभित्र गराउन, चीन निर्यात लक्ष्यसहित किसानलाई व्यावसायिक भैंसी पालनतर्फ प्रवृत्त गर्न, खेतीमा अर्ग्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागरिक संवाद भवनहरू बनाउन, दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सम्पन्न गर्न, कीर्तिपुर क्रिकेट रंगशाला निर्माण छिटो सक्न र भक्तपुरमा ठूलो रंगशाला निर्माणको तयारी अघि बढाउन सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिए।
त्यस्तै उनले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटको उपयोग, राष्ट्रिय रेल सेवा र सेक्युरिटी प्रेस सञ्चालन, रेलवे विस्तार, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौं–तराई मधेस द्रुतमार्गजस्ता परियोजना छिटो सम्पन्न गर्न, योग–आरोग्यता अभियान सञ्चालन गर्न तथा मापदण्डका आधारमा कर्मचारी सरुवा गर्नुपर्नेमा जोड दिए।
‘यी कुरा प्रतिनिधिमूलक मात्र हुन्। सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ भन्ने योजना तयार पार्नुस्,’ ओलीले भने, ‘आगामी भदौको अन्त्यतिर बसेर ती काम निर्धारण गरी अगाडि बढौं। मौलिक ढंगले अघि बढेर साँच्चै माइलस्टोन हुने काम गरौं।’
कार्यक्रममा चालु आर्थिक वर्षका प्रमुख लक्ष्य र अपेक्षित उपलब्धि सम्बन्धी कार्यसम्पादन सम्झौता प्रधानमन्त्री र मन्त्रीबीच सम्पन्न भयो। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्वाधार निर्माण तथा सेवा प्रवाह सुधारका काम समयमै सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास ओलीको अघिल्लो कार्यकालमै सुरु भएको हो।