दिल्ली, १५ अगस्त – भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार १२औं पटक ऐतिहासिक लालकिल्लाबाट देशवासीहरूलाई सम्बोधन गर्दै पाकिस्तानविरुद्धको “अपरेशन सिन्दूर” का शूरवीर सिपाहीहरूप्रति गहिरो सम्मान व्यक्त गरेका छन्। आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले पाकिस्तानप्रेरित आतंकवादविरुद्ध भारतले देखाएको कठोर प्रतिशोधलाई उजागर गर्दै गम्भीर चेतावनी समेत दिएका छन्।
प्रधानमन्त्री मोदीले भने, “आज मलाई लाल किल्लाको पर्खालबाट अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको छ। हाम्रा सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिएका छन्।” उनले स्पष्ट रूपमा भने कि यो अपरेशन भारतको आत्मरक्षाको एउटा उदाहरण मात्र होइन, शान्तिका नाममा सहेर बसेको मुलुकको संयम सकिएको पनि हो।
प्रधानमन्त्रीले २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलालाई स्मरण गर्दै भने, “मानिसहरूको धर्म सोधेर गरिएको त्यो नरसंहार सामान्य थिएन। सम्पूर्ण भारत क्रोधले भरिएको थियो, र त्यो क्रोध अपरेशन सिन्दूरमार्फत् व्यक्त भयो।”
उनका अनुसार अपरेशन सिन्दूरले शत्रुका आधार शिविरहरूलाई सीमापार सयौं किलोमिटरभित्र पसेर ध्वस्त पार्यो। “पाकिस्तान भर्खरै निद्राबाट ब्यूँझिएको छ,” भन्दै प्रधानमन्त्रीले थपे, “त्यहाँको विनाश यति गहिरो छ कि हरेक दिन नयाँ खुलासाहरू भइरहेका छन्।”
प्रधानमन्त्रीले आणविक खतराको संकेत गर्दै भने, “भारतले अब आणविक ब्ल्याकमेल सहन सक्दैन। यदि भविष्यमा कोही शत्रुले भारतलाई धम्क्याउने प्रयास गर्यो भने, त्यसको जवाफ सेनाले आफ्नै तरिकाले दिनेछ। भारतले अब रगत र पानी सँगै बग्न दिनेछैन।”
विशेष अतिथिका रूपमा सफाइकर्मी र सरपञ्चहरू
यस वर्षको स्वतन्त्रता दिवस समारोह विशेष रह्यो। दिल्लीका ५० जना सरसफाइ कर्मचारीहरू – प्रत्येक क्षेत्रमा ५ जना (३ महिला, २ पुरुष) – आफ्ना जीवनसाथीसहित लालकिल्ला कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भए। साथै, देशका विभिन्न भागबाट आएका ८५ वटा गाउँका सरपञ्चहरूलाई ग्रामीण रूपान्तरणमा योगदान पुर्याएकोमा सम्मान स्वरूप आमन्त्रण गरियो।
प्रधानमन्त्रीको सम्बोधनले राष्ट्रिय सुरक्षा, सामाजिक समावेशिता र ग्रामीण विकासमा सरकारको प्राथमिकता स्पष्ट रूपमा झल्किएको छ। सन्देश प्रष्ट छ – भारत अब मौन रहने छैन।